२३ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेता आज नेपाल फर्कँदै छन् । मधेसका केही जिल्लामा जारी आन्दोलन र नाकाबन्दी बारे भारतमा राजनीतिक छलफल गर्न गएका चार नेतामध्ये उपेन्द्र यादव र महन्थ ठाकुर आज साँझ काठमाडौं फर्कन लागेका हुन् । राजेन्द्र महतो र महेन्द्र यादव भने अझै दुई दिन नयाँ दिल्लीमै बस्ने भएका छन् । दुवै जनाले स्वास्थ्य उपचारको कारण देखाउँदै अझै दुई दिन दिल्लीमै बस्ने भएका हुन् । स्वास्थ्य जाँचका लागि दिल्ली बसाइँका क्रममा अझै पनि राजनीतिक भेटवार्ता भने हुन सक्ने सद्भावना पार्टीका महासचिव मनिष सुमनले नेपालदेश डटकमलाई बताए । तमसपाका अध्यक्ष महेन्द्र यादवले मेदान्तमा मुटुसम्बन्धि जाँच गराएर शुक्रबार मात्र फर्कने जानकारी दिएका सो पार्टीका उपाध्यक्ष रामनरेश यादवले जानकारी दिए ।
आफ्नो दलका अध्यक्ष यादव र तमलोपा अध्यक्ष ठाकुर आज साँझ ९ बजे जेट एयरको उडानबाट काठमाडौं फर्कन लागेको जानकारी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले दिए ।

मधेस आन्दोलनका लागि भारतसँग परामर्श गर्नका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर गत आइतबार काठमाडौंबाट दिल्ली गएका थिए भने राजेन्द्र महतो र महेन्द्र यादव पट्ना हुँदै दिल्ली पुगेका थिए । उनीहरु दिल्लीबाट सिधै तराई फर्कने जनाइएको छ ।
मधेसी नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने समय दिएनन् । विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकर र प्रमुख सुरक्षा सल्लाहकार अजित डोभललाई मात्रै भेटेर मधेसी नेताहरु नेपाल फर्कन लागेका हुन् ।











