२३ मंसिर, पर्वत । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइराला असक्षम रहेको आरोप लगाएका छन् । आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका पौडेलले कोइरालाको असक्षमताका कारण कांग्रेस समस्यामा परेको आरोप लगाए । पर्वत पुगेका पौडेलले पार्टी नेतृत्वको कमजोरीका कारण कांग्रेस आन्तरिक समस्यामा रुमल्लिएको टिप्पणी गरे ।
‘कसैले चाहँदैमा आफू सभापति हुने र कसैले नचाहँदैमा नहुने सोच्नु गलत हुने पौडेलले दावी गरे।

पार्टी सभापति सुशील कोइरालातर्फ लक्षित गर्दै उनले नेतृत्वको कमजोरीका कारण पार्टीभित्र एकता नभएको र कांग्रेस प्रतिपक्षमा बस्नुपरेको बताए । पौडेलले भने, ‘कोही बोल्न जान्दैनन्, कोही अरुको पछि लाग्छन् । त्यसैले पार्टीभित्र राजनीतिक समस्या पैदा भयो र सरकारमा जान सकेनौं ।’
पार्टी भित्र अनेकौं समस्या भए पनि देशको राजनीतिक गतिरोध अन्त्यका लागि कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्ने पौडेलले बताए । तराई(मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग औपचारिक/अनौपचारिक वार्ता पार्टीले गरिरहेको उनले जानकारी गराए ।
आन्दोलनरत दललाई समस्याको समाधानको लागि वार्तामा आउन र दशगजा छाड्न उनले आग्रह पनि गरे । ‘दशगजा छोड्नुस्, आन्दोलन जारी राख्नुस् केहि फरक पर्दैन,’ पौडेलले भने, ‘तर वार्तामा आएर समस्याको समाधान खोज्नुस् ।’
यसैबीच पर्वतमा पनि नेपाली कांग्रेसले नयाँ संविधानको विशेषताबारे सन्देश प्रवाह गराउन ‘जनताको आँगनमा कांग्रेस अभियान’ सुरु गरेको छ । ‘कस्तो बन्यो संबिधान रु एकताको अभियान’ भन्ने नारासहित कांग्रेसले उक्त अभियान सुरु गरेको हो ।
नयाँ संविधानले गरेका व्यवस्था, संघीय संरचना, शासकीय स्वरुप लगायतका विषयमा गाउँ तहका कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउँदै कार्यान्वयन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले अभियान सुरु गरेको कांग्रेसले जनाएको छ ।











