२१ मंसिर, काठमाडौं । मधेसकेन्द्रित दलले संविधान बारे जनतामा पारेको भ्रम चिर्न सरकारले संविधानको प्रचारात्मक अभियान सुरु गरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । संविधान, जनताकै माझमा भन्ने नाराका साथ सरकारले सोमबार संविधानको प्रचारात्मक अभियान सुरु गरेको हो ।

स्थानीय विकास मन्त्रालयले सोमबार काठमाडौमा एक समारोहबीच संविधानको प्रचारात्मक अभियान सुरु गरेको हो । सभामुख, पूर्वसभामुख र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरे । सरकारले संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायका हक अधिकार सुनिश्चित गरे पनि मधेशकेन्द्रित दलहरुले संविधानका बारेमा गलत भ्रम फैलाएकाले आम जनतालाई संविधानका विशेषताबारे जानकारी गराउन अभियान सुरु गरिएको ओलीले बताए ।
संविधानसभाले ८५ प्रतिशतभन्दा बढी मतबाट जारी गरेको संविधान विश्वमै गर्व गर्न लायक भएपनि मधेशवादी दलले गलत प्रचार गरेकाले जनतामा रहेको भ्रम चिर्नका लागि अभियान संचालन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्याए । प्रधानमन्त्री ओलीले नेपालको जस्तो प्रगतिशील संविधान दक्षिण एसियाका कुनै पनि मुलुकमा नरहेको उल्लेख गरे ।
संविधान सभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले समेत ८५ प्रतिशतले पक्षमा मतदान गरेको संविधान संसारकै उत्कृष्ट रहेको दावी गरे ।
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधानले मधेशी, आदिवासी जनजाति, थारु लगायतका सबै नेपालीलाई बराबरीको हक दिएको भन्दै अधिकार पाइएन भनेर आन्दोलन गर्नुको औचित्य नरहेको बतााए । उहाँले संविधानले कुनै पनि नागरिकलाई राष्ट्रपति र अन्य महत्वपूर्ण पदमा चुनिन छेकवार नगरेको भन्दै आन्दोलन परित्याग गर्न मधेसी जनतासँग आग्रह गरे ।
ले संविधानको प्रचारात्मक अभियान अन्र्तगत देशका सबै जिल्ला सदरमुकाम, २ सय १७ वटा नगरपालिका र ३ हजार १ सय ५७ वटा गाउँ विकास समितिमा अन्तरसंवाद, गोष्ठी, सभा लगायतका कार्यक्रम गर्नेछ । ती कार्यक्रममा विभिन्न भाषामा छपाइ गरिएका संविधानका विशेषता समेटिएका पुस्तिका र पर्चा पनि वितरण गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारका मन्त्री, पूर्वप्रधानमन्त्री र सांसद्को सहभागीता रहने प्रचारात्मक अभियान एक महिनासम्म संचालन हुने छ ।
धर्मनिरपेक्षताको प्रावधान राखेर जारी गरिएको संविधानको प्रचारात्मक कार्यक्रम भने सरकारले वेदका ऋचाको पाठ गरेर काठमाडौंमा प्रारम्भ गरेको हो ।











