२१ मंसिर, काठमाडौं । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सिंगो मधेसले अस्वीकार नगरेको दावी गरेका छन् । सोमबार ‘हाम्रो संविधान, जनताको संविधान नामक’ प्रचारात्मक अभियान सुभारम्भ कार्यक्रममा संविधानसभाका पूर्व अध्यक्षनेम्वाङले संविधानमा ९१ मधेसी सभासदले हस्ताक्षर गरेको र ३९ ले मात्र बहिस्कार गरेको बताए । त्यसमा पनि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदान गरेका उपेन्द्र यादव लगायतका नेताहरु संविधानमा चित्त नबुझेर नभई सत्तामा जान नपाएर आन्दोलनमा लागेको उनले ठहर गरे । कोइरालाले प्रधानमन्त्रीमा चुनाव जितेको भए उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने र अन्य मधेसी नेताहरु मन्त्री बन्ने सम्भावना रहेकोले उपप्रधानमन्त्री तथा मन्त्री बन्न नपाएर नै केही नेताहरुले अहिले पनि असन्तुष्टी जनाएको नेम्वाङले प्रष्ट पारे ।

संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङले नेपालको संविधानमा ८९ प्रतिशतको उपस्थितमा पास भएको र ८५ प्रतिशतले हस्ताक्षर गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त आफूलाई संविधान निर्माण प्रक्रियाको क्यासेट नै ल्याएर दिएको उनले खुलासा गरे ।
त्यसको आफूहरुले अध्ययन गरेको भन्दै उनले भारतको संविधान ६५ प्रतिशतले पास गरेको बताए ।
निर्वाचन क्षेत्र निर्धारणलाई लिएर पनि असन्तुष्टि देखिएको भन्दै उनले भारतको उदाहरण प्रस्तुत गरे । भारतमा ४७ हजार मतदातादेखि ३५ लाखसम्म मतदाता रहेको निर्वाचन क्षेत्र रहेको विवरण उनले प्रस्तुत गरे । निर्वाचन क्षेत्र २० वर्षमा पुनारावलोकन गर्ने व्यवस्थाको पनि विरोध भएको भन्दै उनले भने, भारतमा ५० वर्षदेखि निर्वाचन क्षेत्र पुनरावलोकन भएको छैन ।’











