२१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका नेताहरुसँग कुरा मिलेको दावी गदै नाकाबन्दी छिट्टै हट्ने दाबी गरेका छन् । काठमाडौंमा सोमबार आयोजित जनताको संविधान, जनताको माझमा भन्ने अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भर्खरै मात्र केही भारतीय नेताहरुसँग कुरा भएको र नाका सुचारु गर्न भारत सहमत भएको दावी गरे ।

आफ्नो अधिकार प्रयोग गर्दा नाकाबन्दी भोग्नुपर्ला भन्ने कहिल्यै नलागेको उनले गुनासो पोखे । मधेसका जायज माग पूरा हुने र नाजायज मागको भण्डाफोर हुने उनले बताए । मधेसका जायज मागलाई सम्बोधन गर्न आजैबाट संविधान संशोधन प्रक्रिया अघि बढाइने उनको भनाई थियो । अहिले देशैभर पैदा भएको राष्ट्रिय जागरणलाई मजबुत पार्दै राष्ट्रिय एकतामा बदल्नु पर्नेमा जोड दिए ।











