२० मंसिर, काठमाडौं । भारतीय योजनामा नेपालका सिमानामा आन्दोलन गरिरहेका मधेसी नेताहरु आज नयाँ दिल्ली पुगेका छन् । उनीहरुका माग पूरा गर्ने गरी प्रमुख तीन दलले वार्तामा बोलाएपछि त्यसबारे सल्लाह गर्न मोर्चाका नेता नयाँ दिल्ली गएका हुन् । त्यहाँ उनीहरुले आजै उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज तथा कांग्रेस आइकी नेतृ सोनिया गान्धीसँग मधेसी नेताहरुले भेटवार्ता गर्ने निश्चित भएको छ ।
संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार बिहान नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली गएका हुन्।
आन्दोलनरत मधेसी मोर्चामा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना फोरमका अध्यक्ष महेन्द्र यादव शनिबार नै दिल्ली पुगिसकेका थिए। मधेसी नेतालाई भारत सरकारका अधिकारीले विमानस्थलमा स्वागत गरी होटल ताज प्यालेसमा लगेर राखेका छन्।












