१९ मंसिर, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज वार्ता भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ वार्ता भएको हो । प्रमुख दल र मोर्चाबीच शुक्रबार साँझ राखिएको वार्ता भने मधेसी मोर्चाका नेता नगएपछि स्थगित भएको थियो ।
साँझ सात बजेका लागि तोकिएको वार्तामा मधेसी नेता तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी ढिलो पुगेपछि वार्ता करिब आठ बजे मात्रै सुरु भएको थियो । विभिन्न दुतावासबाट रकम उठाएर हिमालयन होटलमा गरिएको कार्यक्रममा नारायणकाजी र मधेसी नेता वार्ता नै लम्ब्याएर बसेका थिए । सधैं समयमा पुग्ने भनी घमण्ड गर्ने नारायणकाजी समेत आज एक घण्टा ढिलो वार्तामा पुगेका थिए ।
वार्ता केवल औपचारिकतामा सिमित भएको छ ।
मोर्चाका नेताहरु तीन दलसँग वार्ता गर्ने भनिएको समयमा वार्तामै नआई भारतीय राजदूतलाई भेट्न दूतावास गएका कारण शुक्रबार वार्ता हुन सकेको थिएन ।

भारतीय राजदुतसँग परामर्श गरेपछि मोर्चाले आज आन्तरिक छलफल समेत गरेको छ । मोर्चामा सम्बद्ध दलहरुले आज आन्तरिक छलफल गरेका हुन् । आन्तरिक छलफलपछि आज वार्तामा जान आफुहरु तयार भएको मोर्चाका नेताहरुले बताएका छन् । यद्यपि मोर्चाका नेताहरु आइतबार भारत जाने निश्चित भैसकेकोले आजको वार्ता निर्णायक हुने अवस्था भने देखिएको छैन ।











