१९ मंसिर, काठमाडौं । प्रमख तीन दलको वार्ता छाडेर भारतीय राजदूत रञ्जित रेसँग कुराकानी गर्न गएका चार नेतामध्ये तराई मधेस समाजवादी पार्टीका उपाध्यक्ष रामनरेश राय पनि एक नेता थिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले भारतीय राजदुतसँग आफ्ना गुनासा पोखेका थिए । राजदूत रेसँग मधेसी नेताहरुसँग केके विषयमा कुराकानी थियो भनी नेपालदेश डटकमले रामनरेश रायसँग छोटो कुराकानी गरेको थियो । प्रस्तुत छ उनीसँगको कुराकानी

राजदूत रञ्जित रेले तपाईंहरुसँग के कुरा भन्नुभयो ?
दिल्लीमा कमल थापालाई भारतले जे भनेको त्यही कुरा राजदूतले हामीसँग भन्नुभयो ।
कमल थापालाई भारतले के भनेको रहेछ त ?
सबै कुरा बाहिर आइसकेकै छ नि । नाकाबन्दी हटाउने र हामीहरुका माग सम्बोधन गर्ने विषयमा नै हो ।
सिमांकनका माग तीन महिनामा पूरा गर्ने गरी नाकाबन्दी खोल्ने विषयमा तयार हुन तपाईहरुलाई भारतले निर्देशन दिएको भन्ने कुरा आयो । के राजदूतले त्यसै भन्नुभएको हो ?
हेर्नुहोस्, नाकाबन्दी खोलर हामी कहाँ जाने ? हामीले राजमार्गमा आमसभा गर्न खोज्दा आमसभा विथोलिन्छ, गोली चलाइन्छ । चुरे भावरका नाउँमा हामीमाथि आक्रमण हुन्छ अनि नाकाबन्दी खोलेपछि हामीले आन्दोलन कहाँ गर्ने ?
अनि तपाईंहरुका माग राजनीति समिति बनाएर तीन महिनाभित्र सम्बोधन गर्ने कुरामा भारत पनि सहमत भएको रहेछ त्यसमा तपाईंहरुको के समस्या छ ?
तीन महिनापछि माग सम्बोधन नभए के गर्ने ? त्यसकारण हामीले मान्ने कुरा आउँदैन ।
सिमाङ्नमा सहमत नभए पनि भारतले भनेपछि नाकाबन्दी खोल्न मधेसी दलहरु अब तयार हुन्छन् भन्ने विश्लेषण छ । अब भारतले नै भनिसकेपछि त तपाईंहरु मान्नुहुन्छ होला नि ?
हामीलाई समस्या नै त्यही हो । नाकाबन्दी खोलेपछि हाम्रो आन्दोलन रहँदैन त्यसैले नाकाबन्दी नखोलीदिन नै हामीले राजदूतलाई आग्रह गरेका हौं ।
अनि राजदूतले के भन्नुभयो त ?
त्यही कुरा नमिलेर नै हाम्रा नेताहरु दिल्ली जान लाग्नुभएको हो ।
दिल्लीमा गएपछि केके विषयमा कुराकानी हुनेछ ?
हाम्रो शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेर सरकारले वार्ता भाँड्न खोजेको विषयमा हाम्रा नेताहरुले भारतमा कुरा गर्ने छन् । नेपालको राजनीतिक घटनाक्रम र परिस्थितिबारे त्यहाँ छलफल हुने छ ।











