१८ मंसिर, काठमाडौं । मधेसी मोर्चासँग आज हुने भनिएको वार्ता स्थगित भएको छ । वार्ताका लागि ३ दलका नेताहरुले वालुवाटारमा कुरेर बसे पनि मोर्चा वार्तामा नगएको हो । मोर्चाले अति गोप्य शक्तिसँग छलफल गरिरहेका कारण सर्लाहीको नवलपुर घटनाको निहँ बनाउँदै आज वार्तामा गएन ।
भारतीय गुप्तचरसँग विहीबार मधेसी मोर्चाका नेताहरु साँझ अबेरसम्म पनि छलफलमा बसेका छन् । शीर्ष नेताहरुले भारतीय दूतसँग छलफल गरेर आआफ्ना तल्ला तहका नेतासँग छलफल गर्ने भनी उनीहरुलाई पनि कुराएर रातिसम्म राखेका छन् ।
यसैबीच पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र तमलोपका सहअध्यक्ष भारतीय पक्षसँग महत्वपूर्ण छलफलका लागि आजै भारततर्फ लागेका छन् । विश्व वैंकको कार्यक्रममा भाग लिने वाहनामा उनीहरु भारततर्फ गएका हुन् । भारतसँग निरन्तर परामर्शमा रहेको कांग्रेसले समेत आफ्ना दूतका रुपमा मिनेन्द्र रिजाललाई दिल्ली पठाएको छ ।
सरकारका तर्फबाट उपप्रधानमन्त्री कमल थापाले दिल्लीको ग्रिन सिग्नल लिएर आए पनि आन्दोलनरत पक्ष र प्रमुख प्रतिपक्षीसँग समेत छलफल गर्नका लागि भारतले तीनै पक्षका प्रतिनिधिलाई भारत बोलाएको गोप्य स्रोत बताउँछ ।












