१८ मंसिर, बारा । जनतालाई नाकाबन्दी लगाएर सास्ती दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पछाडि हटेको छ । स्थानीयस्तरबाट र भारतीय जनताबाट प्रतिकार भएपछि मधेसी मोर्चा पछाडि हटेको हो । सर्लाहीको नवलपुरमा चुरे भावरका कार्यकर्ताले विहीबार आमसभा विथोलेका थिए भने वीरगंजको मितेरी पुलमा धर्ना दिने मोर्चाका कार्यकर्तालाई भारतीयहरु आएर कुटेका थिए ।
पूर्वपश्चिम राजमार्गमा समस्या खडा गर्ने गरी राजमार्गमा आमसभा गर्ने मोर्चाका कार्यक्रमहरु स्थगित भएका छन् । बाराको निजगढमा शुक्रबार गर्ने भनिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आमसभा स्थागित भएको छ।
बिहीबार सर्लाहीको नवलपुरमा आयोजना गरिएको आमसभाका क्रममा चुरेभावरसँग झडप हुने सम्भावना टार्न प्रहरीले राजमार्गमा बल प्रयोग गरेको थियो। त्यहाँको झडपमा गोली लागी ८ जना घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि तितरबितर भएका मोर्चा कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडी आगजनी गरेका थिए। उनीहरूले जिल्ला प्रशासन कार्यालय सर्लाही र भन्सार स्थित सशस्त्र प्रहरी पोष्टमा पनि पेट्रोल बम फ्याँकेका थिए।
पछिल्लो समय सवारी साधन असुरक्षित भएको भन्दै सरकारले राजमार्गमा सुरक्षा बढाएको छ।
बीरगञ्ज नाकामा केन्द्रित आन्दोलन कमजोर बन्दै गएकाले त्यसलाई उठाउन मोर्चाले निजगढमा आमसभा स्थगित गरेको दावी तराइ मधेस लोकतान्त्रिक पाटीका महामन्त्री जितेन्द्र सोनलले गरे ।












