काठमाडौं, १८ मंसिर । एकीकृत नेकपा माओवादी केन्द्रिय समिति बैठक पार्टी परित्याग गरी हिँडेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको कार्यशैली र प्रवृत्तिमा केन्द्रित हुन थालेको छ । भट्टराईको उछितो काढेर आनन्द लिने प्रवृत्ति अध्यक्ष प्रचण्डमा देखिएको छ । मोहन वैद्य र बाबुरामले पार्टी छाडेपछि एक्लो उपाध्यक्ष बन्न पाएका नारायणकाजी भने अध्यक्ष प्रचण्ड तानाशाह हुन खोजेको आरोप लगाउँदै अध्यक्ष बन्ने योजनामा लागेका छन् । तीन उपाध्यक्षमध्ये सबैभन्दा कनिष्ठ रहेका नारायणकाजीलाई दुई उपाध्यक्ष जाँदा आफूले बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएसरह भएर आनन्द मानिरहेका छन् । अब उनको लक्ष्य यही समयमा अध्यक्ष प्रचण्डलाई प्रहार गरेर नेतृत्व लिन पाइन्छ कि भन्नेतिर देखिएको एमाओवादी नेताहरुले बताएका छन् ।
बैठकमा एमाओवादीबारे कम बाबुरामबारे बढी चर्चा भएपनि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने भट्टराईका विषयमा खासै टिप्पणी गर्न रुचाएनन् । अधयक्ष प्रचण्डको दस्तावेजमा धारणा राख्ने क्रममा उनले पार्टी संगठन, सबैमा गर्ने समान व्यवहार र पार्टी पुनर्गठन विषयमा मात्रै केन्द्रित रहेर धारणा राखेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए ।
तर, भट्टराईका विषयमा पनि टिप्पणी गर्न अध्यक्ष प्रचण्डले नै आग्रह गरेपछि आफ्नो स्थानमा आएर बसिसकेका श्रेष्ठ पुनः मञ्चमा गए ।
‘बाबुरामजीलाई धेरै अब गाली नगरौं, उहाँले पार्टी नै छाडेर गइसक्नुभएको छ,’ उनले भने, ‘उहाँले एमाओवादी पार्टीलाई पुनर्गठन र सुदृढीकरण गर्न हामीलाई सकरात्मक चुनौती दिएर जानुभएको छ, हामी अरुका विषयमा अब नसोचौं, हाम्रै लागि सोचेर अगाडि बढौं ।’
श्रेष्ठले अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति भने घुमाउरो भाषामा ‘तानाशाही’ भएको टिप्पणी गरे । पार्टीमा कल्याणकारी तानाशाही हावी भएको भन्दै उनले दाहालको आलोचना गरेका थिए । ‘पार्टीमा कल्याणकारी तानाशाही हुनुहुँदैन, जनवादी केन्द्रीयताका पनि समग्र पक्ष हुन्छन्, संगठनको केन्द्रीयता मात्रै होइन, अरु सारतत्व पनि हुन्छन्,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब पार्टीलाई निजिकरणभन्दा संस्थागत गर्ने दिशातिर सोचौं ।’












