१८ मंसिर, काठमाडौं । भारतको ग्रिन सिग्नलसँगै प्रमुख तीन दल एक ठाउँमा आएपछि आज मधेसी मोर्चासँग निर्णायक वार्ता हुने भएको छ । बारम्बार निर्णायक वार्ता भनिए पनि यसअघिका वार्ता औपचारिकतामा सिमिति हुने गरेका थिए । तर यतिवेला भारतले समेत नेपालको समस्या तीन चरणमा टुंग्याउन तयार भएको बताएका कारण र मधेसी मोर्चाका नेताहरुलाई पनि त्यही अनुसार निर्देशन दिएपछि आजको वार्ता निर्णायक हुने भएको हो ।
निर्णायक वार्ताका लागि प्रमुख तीन दलबीच विहीबार विहान औपचारिक निर्णय भएको थियो भने मोर्चाका महन्थ र उपेन्द्रसँग पनि विहीबार विभिन्न चरणमा अनौपचारिक कुराकानी भएको छ । प्रमुख तीन दल शुक्रबार नै निर्णायक वार्ता गरेर असहज अवस्था टुङ्ग्याउने तयारीमा रहेको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।
तीन दलका नेताहरु शुक्रबार बिहानदेखि नै आन्तरिक, दुईपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन्। एमालेले पनि बैठक राखेर निर्णय गर्दैछ । त्यसैगरी कांगेस सभापति सुशील कोइरालाको निवासमा पनि शुक्रबार बिहान पदाधिकारीको परामर्श बैठक बसेको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि शुक्रबार बिहान पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक परामर्श गरेका छन्।
तीन दलका नेताहरुबीच बिहीबार बालुवाटारमा भएको बैठकमा कांग्रेस तीन दलले नेतृत्वको सरकार छँदा दर्ता भएको संविधान संशोधनको विधेयक अघि बढाउने र सिमांकनको विषयलाई उच्चस्तरीय राजनीतिक संयन्त्र तथा संसदीय समितिमार्फत निश्चित समय अवधिभित्र टुंगाउने विषयमा साझा अवधारणा बनाएका बनाइसकेका छन्। त्यही आधारमा मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी भइरहेको जनाइएको छ। यो कुरामा भारतले समेत सकारात्मक प्रतिक्रिया दिएको हो ।












