पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले भारतबारे आफ्नो दृष्टिकोण खुल्ला र स्पष्ट रहेको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा विहीबार मधेसी मोर्चा र आफ्नो नयाँ शक्तिले आयोजना गरेको अन्तरक्रियामा भट्टराईले भारतबारे आफ्नो दृष्टिकोण खुल्ला र स्पष्ट रहेको भन्दै आफ्नो राष्ट्रवादी अडानबारे आशंका नगर्न आग्रह गरे ।
संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नै गुम्ने खतरा भएपछि आधा मरेको संविधान जारी गर्न आफू तयार भएको दावी उनले गरे । तर मधेसीको अधिकार समेट्न नसकेकाले संविधान जारी गरेपछि आफू बाहिरिएको भट्टराईले बताए । तर आफूमाथि भारतवादी भनेर आरोप नलगाउन समेत उनले आग्रह गरे ।

भट्टराईले एकीकृत माओवादी र खस आर्य शासकको नाम लिँदै जनताको अधिकार सुनिश्चित गर्न नसकेकोमा आफू लज्जित भएको उल्लेख गरे । भट्टराईले आफू संविधान बनाउने सवालमा महाभारतको भीष्म पितामहको भूमिकामा रहेको दावी गरे ।
नेपालमा जातिगत रुपमा मुख्यतः तीन क्लस्टर रहेको भन्दै तीनवटा समुदाय मिलेरमात्र राष्ट्रिय स्वाधीनता बलियो हुने उनले बताए । उहाले खस आर्य, आदिवासी जनजाति र मधेसी थारुको एक एक तिहाई मिलेर नेपाल बनेको भन्दै पूर्खा खस आर्यले बिगतमा शासन गरेका कारण अरु समुदाय पछि परेको धारणा पनि उनले राखे ।
काठमाडौं र मधेसबीचको लडाइँमा दिल्ली मिसिएर त्रिपक्षीय संघर्ष भइरहेको भन्दै भट्टराईले दिल्लीका कारण समस्या झन् पेचिलो बनेको जीकिर गरे । भट्टराईले मधेसका माग सम्बोधन गर्न सिंहदरबारलाई दबाव दिनुपर्ने र त्यसका लागि काठमाडौंका जनताको साथ लिनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा मोर्चा आवद्ध नेताहरु ह्दयेश त्रिपाठी , लक्ष्मणाल कर्ण, प्राध्यापक कृष्ण खनाल, विश्लेषक सिके लाल लगाएतले मुलुकको पछिल्लो अबस्थाका बिषयमा धारणा राखेका थिए ।











