१५ मंसिर, काठमाडौं । आर्थिक भ्रष्ट्राचार र व्यक्तिगत स्वाथमा केन्द्रित भएर छिन्नभिन्न भएको एमाओवादी पार्टी बचाउन अध्यक्ष प्रचण्डले १५ बुँदे आचारसंहितासहितको प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा प्रचण्डले पार्टीको क्यान्सर हटाउने उपायसहितको प्रस्ताव पेश गरेका हुन् ।
भ्रष्ट्राचार र अनियमितताले जरैदेखि गाँजिएको एमाओवादीलाई बचाउन र त्यही कारण देखाएर अलग्गिएका मोहन वैद्यहरुलाई समेत एकतामा ल्याउन प्रचण्डले यस्तो प्रस्ताव ल्याएको बुझिएको छ । प्रचण्डले गरेको प्रस्तावमा स्थायी समितिभन्दा तल्लो तहका नेताहरुलाई गाडी प्रयोगमा रोक लगाउने प्रस्ताव गरिएको छ ।
पार्टीको निर्णय र योजनाविना आर्थिक उपार्जनको काम गर्न नपाउने र आय व्ययको विवरण प्रत्येक तीन महिनामा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्तावित आचार संहितामा उल्लेख छ ।
पार्टीको विशेष योजनाअन्तरगत गरिएका निर्णय बाहेक आइएनजीओ र एनजीओमा संलग्न हुन नपाइने अर्को सर्त छ । केन्द्रीय सदस्यहरुले भ्रष्ट«ाचार, तस्करी तथा पार्टीको नाममा आफ्ना लागि चन्दा लिए गम्भीर अपराधको रुपमा लिएर कडा कारबाही गर्ने आचार संहितामा उल्लेख छ ।
एमाओवादीले स्थायी समिति सदस्यहरुले गाडी प्रयोग गर्न पाउने प्रस्ताव गरिएको छ । राज्य कार्यालयहरुमा कार्यालय प्रयोजनका लागि एउटा गाडी दिने र केन्द्रीय सदस्यहरुले आवश्यक परे मोटरसाइकल प्रयोग गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।
स्थायी समिति सदस्यलाई एकजना ड्राइभर र दुईजना सहयोगी तथा पोलिटब्यूरो सदस्यलाई एकजना सहयोगी दिइने प्रचण्डको प्रस्ताव छ । सुरक्षा लगायत विशेष कारणले कसैले गाडी वा सहयोगी आवश्यक परे केन्द्रीय कार्यालयको अनुमति लिनुपर्ने प्रचण्डको प्रस्ताव छ ।
साथै केन्द्रीय नेताहरुले समेत अनिवार्य श्रम गर्नुपर्ने र छोराछोरीलाई विदेश, महंगा निजी तथा आवासीस स्कुलमा पढाउन नपाउने प्रचण्डको प्रस्ताव छ । आइएनजीओ र एनजीओमा काम गर्नसमेत प्रचण्डले पार्टी नेता रकार्यकर्ताहरुलाई रोक लगाउने प्रस्ताव गरेका छन् ।
उनले केन्द्रीय समितिका सबै सदस्यहरु पूर्णकालीन पेवेशर क्रान्तिकारी हुनु पर्नेसहितका १५ वटा बुँदागत सर्तहरु छन् ।
केन्द्रीय सदस्यहरुका एकाघर परिवारका सदस्यहरु पार्टी वा पार्टीसँग सम्बन्धित कुनै न कुनै संगठनमा आवद्ध हुनैपर्ने भएको छ । साथै केन्द्रीय पदाधिकारीले दुई महिनामा एक दिन र अन्य केन्द्रीय सदस्यहरुले महिनामा एक दिन शारीरिक श्रममा भाग लिनु पर्ने प्रस्तावमा उल्लेख छ ।
केन्द्रीय सदस्यहरुका लागि बुधबार प्रचण्डको प्रतिवेदन अध्ययन गर्न केन्द्रीय सदस्यहरुलाई समय दिइएको छ । अर्को बैठक विहीबार बस्ने भएको छ ।












