१५ मंसिर, काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नयाँ शक्तिको नाममा बाबुराम भट्टराईले माओवादी आन्दोलन कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।
एकीकृत माओवादीको आज देखि शुरु भएको केन्द्रीय समिति वैठकमा प्रचण्डले दस्तावेज पेश गर्दै बाबुराम माथि आरोप लगाएका हुन् ।
‘माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका चुनौतीहरूको सामना गर्न एकजुट होऔं !, रूपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौं !’ शीर्षकको प्रस्ताव प्रचण्डले पेश गरेका छन् ।

बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय नभएर नियोजित रुपमा चालिएको कदम भएको ठहर प्रचण्डको दस्तावेजमा गरिएको छ । नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीकै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बनेको भनी प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् । भारतीय योजनामै बाबुरामले पार्टी परित्याग गरेको उनले ठहर गरेका छन् ।
त्यस्तै प्रचण्डले मधेसी दलको आन्दोलन र सिमांकन विवाद वारे समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।
राज्यको पुनर्सरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन र मूलतः राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदन (नारायणी प्रदेश बाहेक) को आधारमा प्रदेशको संरचनाबारे निर्णय लिनु आवश्यक भएको उनले उल्लेख गरेका छन् ।











