१५ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुश्मा स्वराजसित मंगलबार भेटवार्ता गर्ने भनिए पनि अझै भेटवार्ताको समय निश्चित हुन सकेको छैन । भारतीय सत्तारुढ भाजपालाई खुशी पार्नकै लागि वैंगलोर पुगेर रविशंकरसँग भेट गर्दै कमल थापा मंगलबार दिल्ली पुगेका छन् । बुधबार बिहान भेटवार्ता गर्ने तय भएको छ ।
थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि भेटघाट मिलाउने प्रयासमा छन् । तर अहिलेसम्म विदेशमन्त्रीसँगको भेट समेत तय भएको छैन । वुधबार विदेशमन्त्री स्वराजसँग भेट हुनसक्ने सम्भावना मात्रै छ ।

थापाले स्वराजसँग भेट्न नसके पनि प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसित बुधबार भेटवार्ता गराउने गृहकार्य भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदी पेरिसमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर मंगलबार भारत फर्केकका कारण थापाले उनीसँग समेत भेट गर्ने प्रयास गरिरहेका छन्।











