१५ मंसिर, काठमाडौं । नेपालमा अनुमति नै नलिई भारतीय शिक्षा बोर्ड अन्तर्गत चलाइएका भारतीय विद्यालयहरु नेपाल सरकारले खारेज गर्ने भएको छ । अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसई अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको हो ।
मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य रहेको छ । यसका लागि निश्चित प्रक्रिया पुर्याई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्छ । तर, नेपालमा हाल सञ्चालित सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति लिएका छैनन् ।
‘शिक्षा मन्त्रालयले ती विद्यालयलाई अनुमतिका लागि प्रक्रियामा आउन पटकपटक आह्वान गरे पनि उनीहरु अटेर गरे,’ सहप्रवक्ता पोखरेलले भनिन्, ‘अब मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालित त्यस्ता विदेशी विद्यालयको सम्बन्धन खारेजीसम्मको कारबाही अघि बढाएको छ ।’
भारतीय ज्यादतिमा नेपालभित्रै अनुमति नलिई पढाउने एक विद्यालय भारतीय दूतावास भित्रै रहेको छ । त्यस्तै मोर्डन इण्डियन स्कुल लगायतका विद्यालयले नेपाल सरकारसँग अनुमति लिएका छैनन् । ती विद्यालयमहरुमा भारतीय राष्ट्रिय गान गाउन लगाइन्छ । नेपाल प्रहरीका उच्च अधिकारीदेखि नेताहरुका छोराछोरी दूतावासभित्रको केन्द्रीय विद्यालय र मोडर्न इण्डियन स्कलुमा पढ्ने गर्दछन् ।












