१५ मंसिर, काठमाडौं । नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । मोदी सरकारले नेपाली जनतामाथि अमानवीय व्यवहार गरेको, नेपालको पारवहन हक कुण्ठित पारेको भन्दै त्यहाँका कम्युनिस्ट पार्टीहरुले यसअघिदेखि मोदीको आलोचना गर्दै आएका छन् ।
तिनै सांसदहरुले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् । भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ ।
‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद डिपी त्रिपाठीले सोमबार आफ्नै निवासमा भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’











