१४ मंसिर, काठमाडौं । केही समयको संवादहीनतापछि सरकार, आन्दोलनरत दल र प्रतिपक्षी कांग्रेसबीच भएको त्रिपक्षीय वार्ता अन्ततः चियाविस्कुटमै सिमित भएर सकिएको छ । आजको वार्ता निर्णायक हुने कांग्रेस सभापति सुशील कोइरालाले बताएका थिए । विभिन्न पक्षसँगको गृहकार्यपछि भएको भनिएको वार्ता अन्ततः कुनै छलफलविना नै सकियो ।
आन्दोलनरत मधेसी मोर्चा र प्रमुख तीन दलबीच सोमबार बालुवाटारमा भएको शीर्ष बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ।
थप आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने भन्दै नेताहरु बालुवाटारबाट निस्केका हुन्। बाहिरिएका मोर्चाका नेताहरुले बैठक एजेन्डामा प्रवेश नै नगरेको प्रतिक्रिया दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णायक छलफल गर्ने भनेर बोलाएको त्रिपक्षीय बैठकमा कांग्रेस, सत्तारुढ दल तथा मधेसी मोर्चाका नेताहरु सहभागी थिए।

वार्तामा कांग्रेस नेतृत्वको सरकारले संसद्मा पेस गरेको दुईबुँदे संविधान संशोधन प्रस्तावका विषयमा मोर्चासँग सामान्य छलफल भएको थियो। कांग्रेस नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावमा तराईमा आन्दोलनरत मधेसी मोर्चाले सहमति जनाएमा एमालेले पनि सहमति जनाउने रणनीति बनाए पनि मोर्चा एजेन्डामा प्रवेश गर्न नचाहेको स्रोतले बतायो। सेना परिचालन गर्ने सरकारको धम्कीप्रति मोर्चाका नेताहरुले कडा आपत्ति जनाएका थिए।
मोर्चाका शीर्ष नेताहरुले बिराटनगरमा बैठक गरेर बालुवाटारमा महन्थ ठाकुर, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्णलगायतलाई पठाएका थिए।
प्रधानमन्त्री केपी ओलीले भने सोमबारको वार्ता सकारात्मक भएको भन्दै ट्वीट गरेका छन् । दुईपक्षीय र त्रिपक्षीय गृहकार्यपछि बुधबार बेलुका फेरि मधेसी मोर्चासँग वार्ता हुने जानकारी दिए। बुधबार बेलुकासम्म आन्तरिक गृहकार्य र अनौचारिक तहमा छलफल हुनेछ।
सोमबारको बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी थिए।
निर्णायक वार्ताअघि ओलीले सत्तारुढ र विपक्षी नेताहरुसँग अलगअलग भेटेर परामर्श गरेका छन् । मधेसी मोर्चासँगको वार्तामा साझा अवधारणा बनाउन कांग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच विभिन्न तहमा अनौपचारिक वार्ता भइरहेको छ।
उपचारका लागि अमेरिका पुगेका प्रमुख प्रतिपक्षदलका नेता कांग्रेसका सभापति शुशिल कोइराला स्वदेश फर्केपछि नेताहरु छलफलमा जुटेका हुन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले शनिबार नै सुशील र प्रधानमन्त्रीसँग अलगअलग भेटेर छलफल गरेका थिए।शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक अत्यन्त गंभिर र संकटपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै निर्णायक वार्ता बैठक बोलाउन प्रधानमन्त्री समक्ष प्रस्ताव राखेका थिए ।
कांग्रेसले संसदमा आफूले राखेको संशोधनको प्रस्ताव अगाडि बढाउनु पर्ने अडान राख्दै आएको छ । तर त्यसलाई मोर्चासँग छलफल गरी उसको समेत सहमतिमा अघि बढाउनुपर्ने र प्याकेजमै सहमति खोजिनुपर्ने प्रस्ताव प्रचण्डले अघि सारेका छन्। त्यसमा प्रधानमन्त्री लचिलो देखिएका छन्।
सरकारले मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी गरिरहेका बेला भारतीय राजदूत रन्जित रेले आइतबार बेलुका प्रमुख प्रतिपक्षी कांग्रेस सभापति सुशील कोइराला र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
मधेसी मोर्चाले मुख्य मुद्दाको रुपमा राख्दै आएको प्रदेशको सिमांकनका विषयमा केन्द्रित भएर निर्णायक छलफल गर्ने सरकारको तयारी छ। मधेसी मोर्चासँगको वार्ता सिमांकनका कारण निश्कर्षबिहिन बन्दै आएको छ। मोर्चाले तराई मधेसमा कम्तीमा दुईवटा प्रदेश हुने गरी सिमांकन पुनरावलोकन गर्नुपर्ने माग राख्दै आएको छ।











