१४ मंसिर, काठमाडौं । नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तरर्राष्ट्रियकरण गर्न ‘राष्ट्रिय स्वाधीनता अभियान’ले सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म आज मानव साङ्लो प्रदर्शन गर्दैछ । यो अभियान सत्तारुढ एमाले र एमाओवादी समर्थितहरुको सक्रियतामा संचालित हो । आजको मानव साङ्लोमा मानवअधिकारकर्मी तथा चलचित्रकर्मी लगायत सहभागी हुने छन् ।
अभियानले सोमबार २ देखि ३ बजे एक घण्टासम्म राष्ट्रका पक्षमा राष्ट्रिय झण्डासहित सडकमा उभिन सबैलाई आह्वान गरेको छ ।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नारा साथ सिंहदरबारदेखि राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाइनेछ ।
अभियानमा मानवअधिकारकर्मी सबोध प्याकुरेल, एमाओवादी नेता कृष्ण केसी, मसालका कृष्ण अधिकारी, चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानका संयोजक हरिहर शर्मा, केपी पाठकलगायतको समेत ऐक्यवद्धता रहेको छ । नाकाबन्दीको विरोधमा गर्न लागिएको अभियानमा कवि, लेखक, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा युवाहरु सहभागी हुनेछन् ।
भारतले गरेको नाकाबन्दीका कारण नेपालीले दुःखकष्ट व्यहोर्नुपरेको, नेपालीको जनजीवन कष्टकर भएको, भूपरिवेष्ठित देश नेपालले पाउने पारवहन अधिकार कटौती भएको भन्दै आम नागरिकबाट नाकाबन्दीको विरोध गर्न यो अभियान आयोजना गरिएको चलचित्रकर्मी केपी पाठकले बताए ।
मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको पाठकले बताए ।
यसअघि भारतीय नाकाबन्दीविरुद्ध स्कुले विद्यार्थीले चक्रपथमा मानव साङ्लो प्रदर्शन गरिसकेको छन् भने चलचित्रकर्मीले समेत रत्नपार्कमा भारतीय व्यवहारको विरोध गरेका छन् ।












