१२ मंसिर, काठमाडौं । मधेसी मोर्चासँग संयुक्त रुपमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज नागरिक सञ्जालको आवरणमा काठमाडौंका सडकमा देखिएका छन् । शनिबार काठमाडौं वानेश्वरमा केही मानिसहरुको सहभागितामा भएको र्यालीमा पूर्वप्रधानमन्त्री बाबुराम सहभागी भएका थिए । मंसिर १७ पछि काठमाडौंमा र्याली, अन्तरक्रिया र धर्ना गर्ने भनी शुक्रबार मात्र बाबुरामले मधेसी मोर्चासँग संयुक्त निर्णय गरेका थिए । मधेसी मोर्चासँग बाबुरामको नयाँ शक्तिले संयुक्त प्रदर्शन भए पनि शनिबारको प्रदर्शनमा भने बाबुराम र उनीका पत्नी हिसिला र बाबुराम निकट व्यक्ति गंगा श्रेष्ठ र हिसिलाका केही नातेदार सहभागी थिए ।
भारतीय आडमा भएको मधेस आन्दोलनकै पक्षमा बाबुराम र उनका नातेदारले नागरिक संजालका नाममा प्रदर्शन गरेका हुन् ।
भारतीय योजनामा गरिएको र्यालीमा सहभागीहरुले ‘सरकार कहाँ छ ?’ भन्दै नारा लगाएका थिए । उनीहरुले सरकार र आन्दोलनरत समूहले हत्या हिंसा बन्द गर्नु पर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग र कालोबजारीलाई प्रोत्साहन गर्ने क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।
माइतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनपछि भएको सभाका वक्ताहरुले जनताले पाएको कष्टका विषयमा सरकार र संसद् मौन वसेको भन्दै आपत्ति जनाए ।
उनीहरुले मधेसवादी दलको आन्दोलन र आन्दोलनलाई कारण देखाएर भारतले गरेको नाकाबन्दीले ग्याँस, पेट्रोल, खाद्यान्न लगायतको अभाव हुँदा आमजनताले भोकभोकै मर्नुपर्ने अवस्था आएपनि सरकार र संसद्ले समस्याको समाधान खोज्न गम्भिरता नदेखाएको आरोप लगाए ।
साथै अभावको नाममा मौलाएको कालोबजारी नियन्त्रण गर्न तथा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण सम्बन्धी विधेयक तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । तर उनीहरुले भारतीय व्यवहारको कुनै विरोध गरेनन् । नत भारतीय एजेण्टहरुले नेपालमा मच्चाइरहेको आतंकको नै कुनै विरोध गरे ।












