१२ मंसिर, काठमाडौं । नाकाबन्दीको विरोधमा शनिबार नेपालस्थित भारतीय दूतावासको गाडी जलाएको विप्लव नेतृत्वको नेकपा माओवादीले आइतबार नेपाल बन्दको घोषणा गरेको छ । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको माओवादीले बसमा झुण्डिएर कष्टकर यात्रा गरिरहेका नेपालीहरुलाई नेपाल बन्द गरेर झनै यातना दिन लागेको हो ।
नेपाल र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप भएको भन्दै त्यसका विरुद्ध नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

माओवादीको विज्ञप्तीमा भनिएको छ – ‘भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको छ । यो भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम हो ।’
भारतले गरेको नाकाबन्दीको विरोधमा नेपाल बन्द किन गर्नुपर्यो भनी जनताले प्रश्न गरिरहेका छन् । भारतको विरोधका लागि भारतमा विरोध गर्ने या नेपाली जनतालाई सास्ती दिने भनी जनताले गरेको प्रश्नप्रति सम्बोधन गर्दै विप्लव माओवादीले विज्ञप्तीमा यसो भनेको छ – ‘देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा भोलि मंसिर १३ गते मौलिक रुपको नेपाल बन्द कार्यक्रमको आयोजना गरेको छ ।’
मौलिक रुपको नेपाल बन्द कस्तो बन्द हो भन्ने चाहिँ माओवादीले बताएको छैन । त्यो मौलिक बन्द हेर्न चाहिँ सोमबार नै जनताले पर्खनुपर्ने भएको छ ।
विप्लव माओवादीको विज्ञप्तको पूर्णपाठ यस्तो छ :












