१२ मंसिर, काठमाडौं । बाबुराम भट्टराईको पछि लागेर मोहन वैद्यलाई त्यागेका प्रचण्ड यतिवेला बाबुरामले पनि छाडेपछि वैद्यको पछि लागेका छन् । प्रचण्डको कार्यदिशा र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै वैद्य समुहले प्रचण्डलाई छाडेर नयाँ पार्टी बनाएको थियो । यतिवेला प्रचण्ड नेतृत्वको एकीकृत माओवादी र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी एकताको अन्तिम गृहकार्य अघि बढेको छ ।

पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको ती पार्टीले जनाएका छन् ।
छलफललाई अत्यन्त गोप्य राखिए पनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति भइसकेको स्रोतले जनायो । यही गोप्यताकै कारण नेताहरुले बाहिर भने सहमति नभईसकेको बताउने गरेका छन् ।
त्यसो त एमाओवादी फुटाउनुमा बाबुराममार्फत भारतले योजना बनाएको विश्लेषकहरु बताउँछन् । पहिलो संविधान सभामा सबैभन्दा ठूलो बनेको एमाओवादी फुटाउनका लागि बाबुरामको प्रयोग गर्दै वैद्यलाई पाखा लगाएर एमाओवादी कमजोर बनाएको बताइन्छ । यतिवेला प्रचण्ड र वैद्य मिल्ने भनी धेरै पहिलेदेखि तयारी भैरहेकोले फेरि एमाओवादी ठूलो हुने देखेपछि बाबुरामलाई नै योजनाबद्ध रुपमा एमाओवादीबाट अलग गराइएको विश्वस्त स्रोत बताउँछ ।











