११ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्ति र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेका छन् । काठमाडौंमा आज बसेको संयुक्त बैठकले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णयसहित कार्यक्रम समेत निर्धारण गरेको हो । नयाँ शक्ति र मधेसी मोर्चाको आन्दोलनलाई विभिन्न जनजाति पार्टीहरुले समेत साथ दिने भएका छन् । आजको निर्णयअनुसार मंसिर सत्र गते काठमाडौंमा अन्तरक्रिया गर्ने, २१ गते माइतीघरमा धर्ना दिने, २५ गते र्याली निकाल्ने र २७ गते आमसभा गर्ने निर्णय भएको सद्भावना पार्टीका महासचिव मनिस सुमनले जानकारी दिए ।

नयाँ शक्ति निर्माण अभियान र मधेसी मोर्चामा सम्बद्ध दलहरुको आन्दोलनमा पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले समेत साथ दिने भएको छ । त्यस्तै मधेसी मोर्चाका चार दलसहित नौ दल सम्मिलित संघीय गठबन्धन समेतको सहभागितामा काठमाडौंकेन्द्रित आन्दोलन गरिने सद्भावना महासचिव सुमनले बताए ।











