११ मंसिर, वीरगन्ज । वीरगंज रक्सौल नाकामा अवरोध गरेर नेपाली जनतालाई सास्ती दिइरहेका मधेसी मोर्चाका कार्यकर्ताहरु विष्फोटक पदार्थ ओसारपसारमा संलग्न रहेको पाइको छ । नेपालमा इन्धन आउन नदिएर आर्फै इन्धनको कालोबजारी गरिरहेका मोर्चाका कार्यकर्ताले वीरगंज नाकाबाट विष्फोटक पदार्थ भित्र्याउन थालेका छन् । विष्फोटक पदार्थ बनाउन प्रयोग हुने ‘सोडियम सल्फाइड’ नामक पदार्थसहित विहीबार एक जना वीरगञ्जमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका २८ मनियारीका २० वर्षका जयप्रकाश साह रहेका छन् । साहलाई सशस्त्र प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
भारतबाट साइकलमा ५० किलो विस्फोटक पदार्थ लिएर वीरगन्ज आउँदै गरेका साहलाई अलौंको खल्बाटोलबाट सशस्त्र प्रहरी बेस क्याम्प अलौंका सुरक्षाकर्मीले पक्राउ गरेको छ ।
पुल भत्काउने हल्ला चलिरहेको समयमा साहलाई विष्फोटक पदार्थ बनाउने पदार्थसहित पक्राउ गरिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले बताए ।
‘सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले सोधपुछ गर्दा साहले पहिले मल हो भने, त्यसपछि दाना हो भने त्यसपछि संका लागेर बोरा खोलेर हेरेको अर्कै बस्तु फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।’ थापाले भने ।











