१० मंसिर, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको पत्रका कारण नेपाल र चीनबीच हुने भनिएको इन्धन सम्झौतामा ढिलाइ भएको खुलासा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन इन्धन ल्याउन सक्रिय भएपछि परराष्ट्र मन्त्रालयले आफ्नो च्यानलभन्दा बाहिरबाट इन्धन नदिन भन्दै चीनलाई पत्राचार गरेको हो ।
परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीनको परराष्ट्र मन्त्रालयलाई तीन दिनअघि लेखेको पत्रमा बाणिज्य मन्त्रालयको पहलमा मात्र इन्धन आपूर्तिका लागि व्यापारिक सम्झौता नगर्न आग्रह गरिएको छ ।
बाणिज्य मन्त्रालय श्रोतका अनुसार आफूसँग समन्वय नै नगरी बाणिज्यले चीनसँग इन्धन सम्झौता गर्न लागेकामा मन्त्री थापा असन्तुष्ट छन् । ‘प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्र प्रमुख प्रचण्डको निर्देशनमा आपूर्तिमन्त्रीले चीनसँगको व्यापारिक सम्झौता अगाडि बढाउँदै थिए तर आफ्नो क्षेत्राधिकारमा परेको विषयमा अर्कै मन्त्रालयले काम गरेको भन्दै परराष्ट्रमन्त्रीले पत्र पठाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्यौलमा परेको छ ।
यसअघि तिहारका बेला प्रधानमन्त्रीको पत्र लिएर मन्त्री पुन चीन गएका थिए । उनले तत्कालिक र दीर्घकालिन गरी दुई चरणमा इन्धन ल्याउने प्रक्रियाका लागि चिनियाँ अधिकारीसँग संवाद गरेका थिए ।
केही दिनअघि चीनसँग इन्धन आयातसम्बन्धी व्यापारिक सम्झौताका लागि बाणिज्य मन्त्रलयका सह–सचिव नेतृत्वमा अर्थ, कानून र परराष्ट्र मन्त्रालय तथा नेपाल आयल निगमको सात सदस्यीय टोली चीन जाने बताइएको थियो ।तर परराष्ट्र मन्त्रीको पत्रपछि उक्त योजना अगाडि बढेन । तत्काल सम्झौता नहुने भएपछि निगमका नायव महाप्रबन्धक सुशील भट्टराई र प्रवक्ता दीपक बरालमात्र चीन गएका छन् ।
चीन जानुअघि सञ्चारकर्मीसँग बरालले आफूहरु प्राविधिक अध्ययन गरेर फर्कने बताएका थिए ।
भारतलाई नाकाबन्दी खोल्ने आग्रह गर्न भारत गएका उपप्रधानमन्त्री कमल थापा बार्गेनिङ गरेर फर्किएको विश्वस्त स्रोत बताउँछ । चीनबाट पेट्रोल ल्याउन आफूले नदिने तर त्यसका लागि आफ्ना राजनीतिक भविष्य भारतले सुरक्षित गरिदिनुपर्ने र आर्थिक सहायता समेत गर्नुपर्ने प्रस्ताव थापाले गरेको दिल्ली स्रोत बताउँछ । थापा भारत गएर आउनुले नेपालमा कुनै पनि समस्या समाधान नभएकोले उनले व्यक्तिगत फाइदाका लागि बार्गेनिङ गरेको आँकलन विश्लेषकहरुले गर्दै आएका थिए ।












