रौतहटबाट दिपेश पौडल र सप्तरीबाट आकाशकुमार राजभण्डारी
१० मंसिर । देश विखण्डनको नारा लगाएर सामाजिक सद्भाव भड्काउँदै आएका सिके राउतले आज तराईका केही जिल्लामा प्रदर्शन गरेका छन् । आफूलाई गिराफ्तार गरेको एक वर्ष पुगेको अवसरमा उनले आफू समर्थित केही युवाहरुलाई रौतहट र सप्तरी लगायतका जिल्लामा प्रदर्शनमा उतारेका हुन् ।

यसै क्रममा सिके राउत समर्थित १२ जना कार्यकर्ताहरु रौतहटको सदरमुकाम गौर बाट पक्राउ परेका छन । रौतहटको सदरमुकाम गौरमा प्रर्दशन गर्ने क्रममा प्रहरीले उनीहरु लाई बिभिन्न क्षेत्र बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिके राउतको जिल्ला संयोजक अशोक सिंह र सह संयोजक विरेन्द्र साह, यस्तै रंजितकुमार साह, मेवालाल यादव, जितेन्द्र कुमार साह, अशोक कुमार साह, महमद हुसैन देवान, श्यामकिशोर यादव, विरेन्द्र बैठा र सरोजकुमार साह सहित १२ जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । संयोजक सिह र सुरेन्द्र तिवारीलाई गौर नपा–७ टिकुलियाबाट पक्राउ परेका हुन भने अन्य लाई प्रहरीले गौर बैरगनिया नाका नजिक रहेको क्रान्तिद्धार बाट जुलुश प्रर्दशन गर्ने क्रममा गौर भन्सार कार्यालय अगाडीबाट प्रहरीले पक्राउ गरेको हो । जुलुस प्रर्दशन गर्ने क्रममा उनीहरुले स्वतन्त्र मधेशको पक्षमा नाराबाजी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठक पछि उनीहरु लाई कारबाही प्रक्रिया अघि बढाईने प्रहरी नायब उपपिरक्षक राजेन्द्र पोखरेलले बताए ।
आजैका दिन गत वर्ष राजधानी काठमाण्डौमा राउतसंगै मधेसी युवाहरु गिरफदार भएको विरोधमा स्वतन्त्र मधेश गठबन्धनका युवाहरुले सप्तरी सहित मधेसका जिल्लाहरुमा प्रदर्शन गरेका छन् ।
आज राजविराज सहित सप्तरीको भारदह रुपनीमा स्वतन्त्र मधेश गठवन्धनका युवाहरुले स्वतन्त्र मधेशको नारा लगाउदै प्रदर्शन गरेका हुन । राजविराजको गजेन्द्र चोकबाट निकालिएको प्रर्दशन जुलुस नगरको विभिन्न भाग परिकर्मा गरी पुनः गजेन्द्र नारायण चौकमै गएर समापन भएको थियो । त्यस्तै भारदहको कंकालनी मन्दीरको अगाडी वाट गरिएको प्रर्दशन भारदह बजारमा गएर समापन भएको थियो ।












