१० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीको समाचार प्रसारण गरेको आरोपमा मधेसी मोर्चाका कार्यकर्ताले एफ रेडियोमा वम प्रहार गरेका छन् । नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा बुधबार राति मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट रेडियोको कार्यालय परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकल जलेर ध्वस्त भएको हो । मोटरसाइकल ध्वस्त भएको छ ।
सञ्चारमाध्यममा आक्रमण भएपछि सुरक्षाको माग गर्दै रेडियोको प्रसारण अनिश्चितकालका लागि बन्द गरिएको छ ।
समाचारको विषयलाई लिएर राती १० बजेको समयमा टेलिफोनमार्फत धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाईलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले बताए ।
भारतले नाकाबन्दी गरेको छैन, नाकाबन्दीलाई प्राथमिकता दिएर किन समाचार बजाउने कालोबजारीको समाचार किन नबजाउने भन्दै ९८५७०४५८९४ नम्बरको मोबाईलबाट धम्काएको प्रबन्धक गौतमले बताए ।
पेट्रोल बम प्रहारबाट रेडियोको छतमा सामान्य क्षति पुगेको छ ।
घटनाबारे राती नै जानकारी गराउँदासमेत प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन। यसअघि पनि सञ्चारकर्मी र सञ्चारमाध्यमहरु असुरक्षित रहेको जानकारी गराउँदा गराउँदै पनि प्रशासनले बेवास्ता गरेको पत्रकारहरुले गुनासो गरेका छन् ।












