११ मंसिर, काठमाडौं । देश गम्भीर संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओली समस्या समाधान गर्न चासो नदिई भोजभतेर गर्ने, महंगा सामान किन्ने, मोजमस्ती गर्ने र राज्यलाई भारत थप्ने काममा मात्र व्यस्त भएको खुलासा भएको छ । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धन अभावले गरिब जनताको चुलो बल्न छाडेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो बालुवाटारस्थित निवासमा भोजभतेर र खाजानास्तामा मात्र लाखौं फजुल खर्च गरेको तथ्य पत्ता लागेको हो ।

उनले कात्तिक महिनामा मात्र भोजभतेर र खाजा नास्तामा १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भुक्तानीका लागि सार्वजनिक बिलमा ुप्रधानमन्त्री निवासमा विभिन्न मितिमा बसेको बैठकमा भएको उक्त खर्च उल्लेख छ ।
जसअनुसार भोजभतेर र खाजानास्ता अनमोल क्याटरिङ सर्भिस प्रालिले आपूर्ति गरेको छ । प्रधानमन्त्री कार्यालयले ओलीका लागि भन्दै १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पल आइप्याडसमेत खरिद गरेको छ । आइप्याड ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट खरिद गरिएको वेबसाइटमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँका पत्रपत्रिका पढेको विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ ।
आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको हो । जब कि, कात्तिकमा दसैं तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए । कुन कुन पत्रिका कति परिमाणमा किन्दा यति ठूलो रकम खर्च भएको हो भन्ने वेबसाइटमा उल्लेख छैन ।
प्रधानमन्त्री भएका ओलीले त्यति धेरै पत्रिका पढ्ने समय चाहिँ कतिवेला कसरी पाएका होलान् भन्ने अनौठो प्रश्न समेत उब्जिएको छ । जनता भोकै मर्नुपर्ने अवस्था रहेको वेला प्रधानमन्त्री ओलीले समस्या समाधान गर्न चासो दिएको देखिएको छैन । भारतसँग झुक्दिन भन्ने कुरा गर्ने तर जनता भने मरे मरुन् भन्दै आफू भने राज्यको लाखौं रकम उडाएर भोजभतेर, आइप्याड र भ्रष्ट्राचारमा रमाउने ओलीको यो कर्तुतले उनको सरकार धेरै दिन नटिक्ने सम्भावना बढ्दै गएको छ ।











