कन्हई यादव
९ मंसिर, भैरहवा । भारतको अघोषित नाकाबन्दीको कारण नेपालमा खाद्य सामग्री र इन्धनको अभाव श्रृजना भईरहेको अवस्थामा मधेसी मोर्चाकै मिलेमतोमा व्यवसायीहरुका अगुवाहरु नै कालोबजारीमा लागेको पुष्टि भए पनि दोषीलाई उन्मुक्ति दिइएको छ । मधेसी मोर्चा र उद्योग वाणिज्य महासंघको दवावमा प्रहरीले उन्मुक्ति दिएको जनाइएको छ ।
अवैध भण्डारण गरिरहेका सिद्धार्थ उद्योग बाणिज्य संघका सचिव नेत्र आचार्यको पसलमा ठूलो परिमाणमा खाने तेल भेटिए पनि प्रहरी उनलाई कार्यवाही गर्न हच्किएको हो । प्रहरीले आचार्य र उनिसंगै रहेको शोभा स्टोर्सका सञ्चालक कृष्ण प्रसाद पौडेलको पसलमा छापा मारी ठुलो परिमाणको खानेतेल बरामद गरे पनि मानिस फेला नपरेको भैरहवा भन्सार कार्यालयमा प्रतिवेदन पेश गरेको छ ।
दुवै ब्यापारीको पसलमा प्रहरीले छापा मार्दा उनिहरु पनि प्रहरी संगै रहेको र प्रहरीले हिरासतमा लिई जिल्ला प्रहरी कार्यालय समेत लगेको स्थानिय प्रत्यक्ष दर्शीहरु बताउछन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि दुई जनालाई पक्राउ गरेको र जिम्मा लगाई छाडीएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले हिरासतमा लिएका दुवै जनालाई पछि उपस्थित गराउने गरि आफन्तको जिम्मा लगाईएको बताए । यता प्रहरीले भैरहवा भन्सारमा बुझाएको प्रतिवेदनमा मानिस फेला नपरेको जनाईएको जनाईएको छ ।
प्रहरीले कालोबजारी गर्ने दुवै ब्यापारीहरुलाई पक्राउ गरि कुनै मुद्दा नै दर्ता नगरि उम्काउने प्रयास गरेको छ । प्रहरीले दुवै ब्यापारीहरुलाई पक्राउ गरे पनि ब्यापारीहरुको चरम दबावको कारण मुद्दा नै नचलाई छोडेको हो ।
नेपालमा जनता अभावमा बाचिरहेका अवश्थामा अवैध भण्डारण गरि ब्यापारीहरुले चर्को मूल्यमा बिक्रि बितरण गर्ने गरेका छन । भारतबाट साईकल, मोटरसाईकल तथा अन्य साधन प्रयोग गराई अवैध तरिकाले ल्याएका यस्ता तेल नेपालको बिभिन्न भागमा चर्को मूल्यमा बिक्रि गर्ने गरिएको छ । ७ सय रुपैया पर्ने यस्ता तेल अहिले यी ब्यापारीहरुले २४ सय रुपैया सम्म लिई बिक्रि गर्ने गरेको स्थानिय ब्यापारीहरु बताउछन ।
यति मात्र हैन महङ्गो मूल्य हालेर खरिद गरिएका यी भारतीय तेल मध्ये कतिपय त खान नै नमिल्ने रहेका छन । पक्राउ गरिएकोमा तोरीको, पाल्म आयल, सोयाबीनको र सूर्यमुखीको तेल रहेको छन । यी तेलहरु सम्बन्धित निकायले चेकजाच नगरि नेपाल आयात गर्न नसकिने भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए । उनले सर्वप्रथम भन्सार बुझाइएका यी तेलहरु सर्वप्रथम परिक्षणको लागी पठाईने बताए । परिक्षणबाट खाने योग्य देखिए थप प्रक्रिया अगाडी बढाइने अन्यथा तेल नष्ट गरिने उनले बताए ।
यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले कालोबजारी तथा अवैध भण्डारण गर्ने जोकोही लाई पनि कार्यवाहीको दायरामा ल्याउने बताए ।
यता उद्योग बाणिज्य संघका सचिव नेत्र आचार्यले संयुक्त लोकतानित्रक मधेशी मोर्चाले आफुलाई नियतवश फसाएको आरोप लगाएका छन । राज्यमै खानेतेलको अभाव भएको अवश्थामा आफुले भारतबाट साईकलमा ल्याउनेहरु सित खरिद गरि आपूर्तिमा सहयोग मात्र गरेको बताए । मोर्चाले बन्दको क्रममा पसल बन्द नगरेको भन्दै आफुलाई फसाएको आचार्यको दावी छ । उनले मोर्चाका कार्यकर्ता आफै पनि अवैध तेलको कारोबारमा लागेको आरोप समेत लगाए ।












