९ मंसिर, काठमाडौं । निजी तथा आवासीय विद्यालयहरुले भारतको नाकाबन्दी सही नसक्नु भएको भन्दै नाकाबन्दीको विरोधमा स्कुले विद्यार्थीलाई सडकमा उतार्ने भएका छन्।
निजी तथा आवसीय विद्यालयहरुका संगठन प्याब्सन र एन प्याब्सनले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी भारतको नाकाबन्दीका कारण विद्यार्थीको पढ्न पाउने अधिकार नै हनन् भएकाले मंसिर ११ गते विद्यार्थीहरुलाई सडकमा उतार्न लागेको जानकारी दिएका छन्।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले स्कुले विद्यार्थीहरुको सहभागीतामा चक्रपथको २७ किलोमिटर लामो सडकमा विद्यार्थीको साङ्लो निर्माण गरिने बताए। उनले नाकाबन्दीका कारण इन्धनको अभाव हुँदा निर्वाध रुपमा पठनपाठन संचालन गर्न सक्ने अवस्था नरहेकाले अर्न्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न विद्यार्थीहरुलाई सडकमा उतारेर साङ्लो प्रदर्शन गर्न लागेको बताए।
प्याब्सनले पटक पटक ध्यानाकर्षण गराउँदा पनि भारतले नाकाबन्दी अन्त्य गर्ने संकेत नदेखाएपछि विभिन्न संघसंस्थासँग मिलेर नाकाबन्दीको विरोधमा विद्यार्थीलाई प्रदर्शन उतार्ने निर्णय गरेको जनाएको छ। विद्यार्थीहरुलाई चक्रपथ घेर्ने साङ्लोमा सहभागी हुन विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठन र शिक्षकका पेशागत संस्था र अभिभावकले पनि सहयोग गर्ने छन् ।











