९ मंसिर, सुनसरी । भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । सुनसरीको हरीपुर ७ भण्टावारीमा एसएसबीको गोली लागि ४ जना नेपाली नागरिक घाइते भएका हुन् । भारतवाट तेल र रासायनिक मल तस्करी गरी ल्याउने क्रममा बुधवार विहान ४ः३० बजेको समयमा सुनसरीसँग सिमाना जोडिएको भारतको भिमनगर स्थित दशगजा क्षेत्रमा तेल तस्कर र भारतीय सिमा सुरक्षा बलबीच झडप भएको थियो ।

भारतीय सिमा सुरक्षा बलले रोक्न खोज्दा तेल तस्करहरुले नमानेको र उल्टै एसएसवीमाथि लाठी र घरेलु हतियारबाट प्रहार गरी एक जना भारतीय सिमा सुरक्षा बलका जवानलाई समातेर आफनो सिमामा लग्न खोज्दा आत्मरक्षाको लागी गोली चलाउनु परेको एसएसवी सेना नायक रामअवतार भलौठियाले बताए ।
गोली लागी घाइते हुनेहरुमा हरिपुर ७ का अशोक यादव, मनोज यादव, सरोज यादव, नरेश यादव रहेका छन । अशोक यादवको छातीका दाहिने भागमा र नरेश यादबको कम्मरमा गोली लागेको छ ।

घाइतेहरुको धरान स्थीत विपी कोइ्राला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय शर्माले घटनाको पुष्टि गर्दे थप अनुसन्धान भइरहेको बताए । घटनास्थल भण्टाबारीमा एसएसवी उच्च अधिकारीहरु पुगेका छन ।











