८ मंसिर, काठमाडौं । केपी ओली नेतृत्वको सरकार गिराउने योजना भारतले बनाइरहेको गोप्य जानकारी नेपालदेश डटकमलाई प्राप्त भएको छ । वर्तमान सरकारलाई अप्ठेरो पार्न आगामी शुक्रबारदेखि नेपालसँग जोडिएका नाका ठप्पै पार्ने योजना भारतीय गुप्तचर संस्थाहरुले तयार पारेका हुन् । मधेस आन्दोलनका आडमा भारतले के चाहेको हो भनी नेपालले भारतीय राजदुत रञ्जित रे र भारतस्थित नेपाली दुतावासबाटसोधपुछ हुन थालेपछि भारत झन् भड्किएको नयाँ दिल्लीस्थित गोप्य स्रोतले नेपालदेश डटकमलाई जानकारी दियो ।
नाकाबन्दीलाई अझै कडा पारेर केपी ओली नेतृत्वको सरकारलाई अझै अप्ठेरोमा पार्ने र सरकार ढाल्ने योजना भारतको रहेको उक्त स्रोतले जानकारी दियो । चीनबाट इन्धन आयात गर्ने नेपालको योजना समेत भारतले नै तुहाइदिएको सो स्रोतले बतायो । चीन र नेपालबीच इन्धन व्यापार सम्झौताहुनुपूर्व भारतीय गृहमन्त्री राजनाथ सिंह बेइजिङ पुगेर नेपाललाई तेल नदिन आग्रह गरेका थिए । भारतसँग ठूलो व्यापार रहेको चीन भारतलाई बेखुशी पार्ने गरी नेपालसँग सम्झौता नगर्ने पक्षमा पुगेको विशेष स्रोत बताउँछ ।
ओली सरकार ढालेपछिको योजना
ओली सरकार ढालेपछि कांग्रेसलाई पनि सरकारमा ल्याएर अर्को सरकार बनाउने योजना भारतको रहेको गोप्य स्रोतले बतायो । सोमबार राति दिल्लीमा भएको गुप्तचर संस्थाहरुको छलफलले संसद समेत विघटन गराउने अर्को योजना समेत बनाएको बताइएको छ । योजना नम्बर १, २, ३ र ४ गरी यतिवेला भारतले चार योजना बनाएको र एउटा योजना असफल भए अर्को योजना अगाडि बढाउने गरी काम गरेको स्रोतले बतायो ।
नयाँ सरकारमा कांग्रेस, बाबुराम भट्टराईको नयाँ शक्ति, मधेसकेन्द्रित दललगायत सहभागी बनाउने भारतको योजना छ । संसदीय शक्तिबाट सरकारको नेतृत्व गराउनु पर्ने अवस्था भए शेरबहादुर देउवा र बाह्य शक्तिबाट नेतृत्व गराउनु परे बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने योजनामा भारत रहेको बुझिएको छ । कांग्रेस नेता शेरबहादुर देउवा दिल्लीसँग निरन्तर सम्पर्कमा रहेको समेत उक्त स्रोतले बतायो ।
नयाँ सरकारमार्फत भारतले नेपालमाथिको जलस्रोतको कब्जाको रणनीतिसँगै हिन्दू राष्ट्र स्थापनाको एजेण्डा छिराउने समेत बुझिएको छ ।













