७ मंसिर, काठमाडौं । यो वर्षको हिँउदमा पोहोरभन्दा कम जाडो हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको तापक्रम वर्षेनी ०.०४ डिग्री सेन्टिग्रेडका दरले बढिरहेकाले यो वर्ष पोहोर हिउँदभन्दा कम जाडो हुने भएको हो। २ वर्षअघि नोभेम्बर महिनामा काठमाडौंको औसत तापक्रम २५.६ डिग्री सेल्सियस थियो। गत वर्ष यही महिनाको औसत तापक्रम २६।२ डिग्री पुग्यो। यो वर्ष भने काठमाडौंको औसत तापक्रम २७.२ डिग्री पुगेको विभागको तथ्यांकले देखाउँछ।

विभागकी मौसमविद् प्रतिभा तुलाधरले सूर्य अहिले ‘वार्म फेज‘ मा भएकाले विश्वभरिको नै तापक्रम बढिरहेको बताइन्। ‘सूर्य ११.४ वर्ष वार्म फेज र त्यति नै समय कोल्ड फेजमा बस्ने गर्दछ‘ उनले भनिन् ‘सन् २०२० सम्म सूर्य वार्म फेजमा बस्ने भएकाले प्रत्येक वर्ष तापक्रम बढिरहनेछ।‘ बढ्ने तापक्रमको मात्रा भने देशको अवस्थिति अनुसार फरक हुने उनले बताइन्।
विश्वव्यापी उष्णता र जलवायू परिवर्तनले पनि तापक्रम बढाइरहे पनि तापक्रम बढनुमा मुख्य कुरा सूर्यको वार्म फेज भएको मानन्धरको भनाइ छ। ‘ग्लोबल वार्मिङ, क्लाइमेट चेन्ज जस्ता कुरा सहायक हुन् मुख्य कुरा सूर्यको फेज नै हो‘ मानन्धरले भनिन्।
विभिन्न तथ्यांकहरुले सन २०२० पछि फेरि विश्वको तापक्रम घट्ने क्रम सुरु हुने देखाएको पनि उनले बताइन्।











