७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आन्दोलनका नाममा योजनाबद्धरुपमा हिंसा बढाउने काम भइरहेको आरोप लगाएका छन् । गैरसरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनका नाममा नेपाली जनतालाइ दुःख दिने काम भएको धारणा व्यक्त गरे । मधेस र पहाडको नाममा विभेद बढाएर साम्प्रदायिक हिंसा भड्काउने काम भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज भएको बताए । वार्ता र संवादबाटै सबै समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको दोहो¥याउँदै उनले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधानमा सहयोगी बन्न आग्रह गरे । प्रधानमन्त्री ओलीले राष्ट्रिय सद्भाव तथा एकताका लागी सबै एक भएर उभिनुपर्ने बताए । उनले मुलुकलाई अघि बढाउनका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पस्ट पारे । ओलीको यो भनाइ सरकार छाड्न समेत तत्पर रहेकोतर्फ लक्षित थियो ।












