७ मंसिर, काठमाडौं । मधेस आन्दोलनलाई सम्बोधन गर्ने गरी समान धारणा बनाएर अगाडि बढ्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल प्रमुख प्रतिपक्षि दलसहित ६ पार्टीको सोमबार बसेको बैठकले साझा संशोधन प्रस्ताव बनाउने तयारी गरेको नेताहरुले जनाएका छन् । बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान संसोधनका लागि संसदमा पेश गरेको नेपाली काँग्रेसको प्रस्ताव अनुरुप नै अगाडि बढनुपर्ने बताए ।
त्यस्तै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेशवादी दलका एजेन्डा अझै स्पष्ट नभएको भन्दै पछिल्ला दिनमा आएको ११ बुँदे मागलाई सम्बोधन गर्न हिंसाको राजनीतिक त्यागेर सहमतिका माध्यमबाट मात्र सम्भव हुने बताए ।
आफ्ना मागको सुनुवाइ गराउन शान्तिपूर्ण ढंगले आउनुपर्ने बताउँदै उनले पृथक ढंगले जानेमाथि सहमति गर्न नसकिने बताए । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसकेन्द्रित दलले राखेको ११ बुँदे मागको सम्बोधनका लागि उनीहरु नै गम्भीर नभएको जानकरी दिए ।
यसअघि हिजो आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको १६ दलको बैठकमा संविधान संशोधनमार्फत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले उठाएको माग सम्बोधन गर्न सत्तारुढ र प्रमुख प्रतिपक्षी दल काँग्रेससहित १६ दल सहमत भएका थिए । सय दिन भन्दा लामो समयदेखि जारी तराईको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण देशमा अत्यावश्यकीय वस्तुको अभाव चर्किदै गएको छ भने मधेसी मोर्चाको आन्दोलन पनि उग्र बन्दै गएको छ ।












