६ मंसिर, काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरेर इन्धनमा नेपालीले पाएको सास्तीसँगै पेट्रोल पम्प संचालकले रिमोटबाट पेट्रोल ठग्ने मेसिन राखेर ठगी गरिरहेको नयाँ तथ्य प्रहरीले पत्ता लगाएको छ । आइतबार प्रहरीले काठमाडौंका विभिन्न पेट्रोल पम्पमा छापा मारेर यस्तो पत्ता लगाएको हो । आइतबार साँझ प्रहरीले काठमाडौंमा छापा मार्दाका घटना यस्ता छन् :
आइतबार साँझ छ बज्नै लाग्दा एकान्तकुनास्थित गायत्रीदेवी आयर स्टोर अगाडि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको गाडी दुई वटा गाडी रोकिए ।

गाडीबाट महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसहितका प्रहरी अधिकारी ओर्लिए । अनि सुरु भयो ‘एन्टी क्राइएस मंगर’ अपरेशन । मिटर विगारेर उपभोक्ता ठग्ने पेट्रोल पम्पहरु र कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुविरुद्ध अपराध महाशाखाले आइतबारदेखि एन्टि क्राइसेस मंगर अपरेशन सुरु गरेको थियो ।
अपरेशनको पहिलो निशाना बन्यो, बालाजुस्थित क्रिष्टल आयल स्टोर । त्यहाँ छापा मारेर प्रहरीको टोली एकान्तकुना पुगेको थियो । प्रहरी पुग्दा पम्पले सार्वजानिक सवारीलाई डिजेल वितरण गरिरहेको थियो भने तेलका लागि सवारी साधनको लामो लाइन थियो ।
प्रहरी पुगेपछि पेम्पमा कर्मचारीहरु आत्तिए भने लाइनमा बसेकाहरु के गर्न खोजेको हो भन्दै हेर्न आए । तर, प्रहरीले पम्पको चाबी लियो र, भीड र सवारी साधनलाई हटाएर ठगीको राज खोज्यो ।

मिटर विगारेर उपभोक्ताहरुलाई कम तेल दिने गरेको पाइएपछि प्रहरीले अपरेशन थालेको थियो । प्रहरीले आफूसँग भारतीय नागरिक आयोब आलमलाई पनि लिएर आएका थिए, जसले देखेपछि पम्प सञ्चालकको सातो गयो ।
प्रहरीको उपस्थितिमा आलमले पेट्रोल पम्पको चाबी खोलेर मेसिन जोडिएको ‘ठगी’ गर्ने मेसिन निकाल्न थाले । जुन यन्त्र उनै आलमले ९ महिनाअघि जोडेका थिए । जसबापत पेट्रोल पम्पका मालिक शैलेन्द्र श्रेष्ठले उनलाई ३० हजार रुपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आलमका अनुसार उनले राजधानीका डेढ दर्जन पेट्रोल पम्पमा यस्तो ठगी गर्ने मेसिन जोडेका छन् । आलम पक्राउ परेपछि विभिन्न पेट्रोल पम्पमा छापा मारेको एसएसपी खनालले जानकारी दिए ।

आलमका अनुसार पेट्रोल पम्पमा यस्तो मेसिन जडान गरेपछि १०० लिटरमा २ देखि ४ लिटरसम्म ठगी गर्न सकिन्छ । तेल हाल्ने बेलामा परैबाट रिमोट चलाएपछि मेसिनले आफैं काम गर्न थाल्छ र उपभोक्ता ठगिन्छ ।
मिस्त्रीले पम्पबाट जडान गरिएको मेसिन निकालर प्रहरीलाई बुझाए भने पम्पमा कार्यरत मजदुरले रिमोट जिम्मा लगाए । प्रहरीले मेसिन र रिमोटसँगै पम्पका मालिक शैलेन्द्र श्रेष्ठलाई पनि नियन्त्रणमा लियो ।
अपराध महाशाखा प्रमुख एसएसपी खनालले कालोबजारी र ठगी गर्नेहरु कसैलाई नछाड्ने बताएका छन् । ‘नाकाबन्दीका बीच पनि केही ट्यांकर तेल आइरहेको छ । तर, वितरण प्रणालीमा संलग्न अधिकारीहरुबाट कालोबजारी र ठगी भएकाले उपभोक्ताले पेट्रोलियम पद्धार्थ पाउन सकिरहेका छैनन्’ खनालले भने- ‘प्रहरीले कसैलाई पनि छाड्ने छैन ।’
रिमोट सिस्टमबाट उपभोक्ता ठगी गर्ने मेसिन बनाएर विभिन्न पेट्रोल पम्पमा जडान गरी लाखौं कमाउने आयोब आलम भारत गोरखपुरका हुन् । काठमाडौंको बालकुमारीमा उनको वर्कसप छ ।
आलमले ४ वर्षदेखि काठमाडौंमा व्यवसाय सञ्चालन गर्दै आए पनि ९ महिनादेखि मात्रै यस्तो मेसिन जोड्न थालेको बताए । दिल्लीबाट इलेक्ट्रोनिक मेकानिकलमा डिप्लोमासम्म अध्ययन सकेर रोजगारीका लागि नेपाल आएको आलमले बताए ।
सुरुका केही वर्ष बुटवटमा मिस्त्री काम गरेका उनी त्यसपछि काठमाडौं आएका थिए । ‘यस्तो मेसिन जोड्न जो कोहीले जान्दैन । म त इलेक्ट्रोनिक मेकानिकल इन्जिनियरको डिप्लोमा भएकाले मात्रै जानेको हुँ’ आलमले भने- ‘एउटा मेसिन सेट गरेको ३० हजार लिन्छु ।’
आलमजस्तै अन्य केही भारतीय नागरिकहरुले यस्तो धन्धामार्फत लाखौ कमाइरहेको पाइएको एसएसपी खनालले जानकारी दिए । ‘हामीले समातेकामध्ये केही वर्षअघि मात्रै धनुषबाट अंगृकित नेपाली नागरिकता लिएर यस्तो धन्धा गर्दै आएका पनि छन्’ खनालले भने(भोलि सार्वजानिक गर्छौं ।’
पेट्रोलियम पद्धार्थको वितरण प्रणालीमा संलग्न निकायका कर्मचारीहरुको मिलेमतोमा कालोबजारी भएको पाइएकाले प्रहरीले अनुसन्धान आक्रमक बनाउने एसएसपी खनालले जानकारी दिए । ‘हामीले गहिरो अध्ययन पछि पेट्रोलियम पद्धार्थमा भएको ठगी र कालोबजारीको बारेमा निकै आश्चर्यजनक तथ्यहरु फेला पारेका छौं’ उनले भने- केही दिनमै सार्वजानिक गर्नेछौं ।’











