५ मंसिर, काठमाडौं । अद्भूत मानसिक क्षमता भएका नेपाली बालक आदित्य दाहालको अमेरिकामा सामान्य उपचार भएपछि उनलाई स्वदेश फर्काएको छ । अदभूत क्षमताकै कारण उनलाई नेपाली गुगल व्वायका नामले सम्बोधन गरिने उनले शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिकामा विताएका थिए ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।

तर, एनबिआइएका १३ वटा प्रकारमा आदित्यका लक्षणहरु मेल नखाएपछि उनीहरुले एनबिआइए भएको ठहर गर्न सकेनन् । न्यूरो
सर्जन किथ भान हारेनको टोलीले थप अनुसन्धान गर्नका लागि उनको रगत तथा जीनको नमुना लिएको छ ।
उक्त परिक्षणको रिपोर्ट आउन अझै केहि महिना लाग्ने भएपछि आदित्यले स्वदेश फर्किने इच्छा व्यक्त गरेका थिए । डाक्टरहरुले अन्तिम रिपोर्ट आएपछि फेरि अस्पताल ल्याउन सुझाव दिएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।
आदित्यलाई अमेरिकी डाक्टरहरुले अहिलेसम्म कुनै औषधि चलाएका छैनन् । यद्यपि फिजियोथेरापी र न्यू्ट्रिसनको माध्यमले स्वास्थ्यमा सामान्य सुधार आएको आदित्यका बाबु शेषराज दाहालले बताए ।
आदित्य कुनै वस्तुमा सहारा लिएर उभिन सक्ने भएका छन् । पहिले हातका औंलाहरु सँधै मुठ्ठी पारेका हुन्थे, जून अहिले खुलेको छ । मुखबाट र्याल निस्कन निकै कम भएको छ । चोर औंला सोझो बनाएर नाक कान कोट्याउन सक्छन् । यसबाहेक अन्य सुधार नगण्य छन् । बोल्ने क्षमतामा कुनै प्रगति भएको छैन ।
डाक्टरहरुले उनलाई नियमित फिजियोथेरापी गराउन दुई दुई घन्टामा पोषणयुक्त खानेकुरा खुवाउन, होहल्ला र भिडभाडबाट टाढा राख्न सुझाव दिएका छन् ।
नेपाल फर्केपछि आदित्यले भारतीय नाकाबन्दी कहिले खुल्छ भनी भविष्यवाणी गर्न सकेनन् । नाकाबन्दीबारे पत्रकारले सोधेको प्रश्नको उनले सिधा जवाफ दिएनन् । भारतले लगाएको अघोषित नाकाबन्दी कहिले खुल्छ भन्ने प्रश्नमा उनले घुमाउरो र राजनीतिक प्रकारको जवाफ दिएका छन् ।
आदित्यले लेखेका छन् रु ‘खोई त सहमतिको वातावरण निर्माण गर्ने पक्षमा कोहि किन नलागेको रु यसले दुर्घटना निम्त्याउँछ । सहमति बिना केहि भन्ने अवस्था देखिँदैन ।’












