दिनेश ठाकुर

नेपालगन्ज, मङ्सिर ५ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा देखिएको पछिल्लो असहज अवस्थालाई वार्ता र सम्वादको माध्यमबाट समाधान गर्नका लागि सरकार अधिकतम लचकताका साथ प्रस्तुत भएको बताएका छन् । राज्यले सबै नागरिकलाई अभिभावकत्व ग्रहण गर्ने हो, शनिबार नेपालगञ्जमा भएको मध्य र सुदुरपश्चिम क्षेत्र स्तरीय सुरक्षा सम्बन्धी बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले भने– अहिले केही असहजता छन् , त्यसलाई समाधान गर्नु राज्यको दायित्व र कर्तव्य हो ।
गृहमन्त्री बस्नेतले सरकार वार्ता र संवादबाटै समस्याको समाधान गर्न तयार भए पनि यो प्रक्रिया अनन्तकालसम्म जान नसक्ने पनि स्पष्ट पारे ।
असहज अवस्थालाई अनन्तकालसम्म हेरेर सरकार बस्न नसक्ने बताउँदै उनले त्यस्तो अवस्था आए पनि सबैभन्दा सहज उपाय खोजिने बताए । सरकारले अहिलेसम्म संवाद र छलफलका माध्यमबाट निकास खोज्ने प्रयत्न गरिरहेको गृहमन्त्री बस्नेतले बताए । मुलुकमा पछिल्लो समय ईन्धन संकट देखिएपछि आम नागरिकले सरकारप्रति देखाएको सदासयतालाई कमजोरी नठान्न उनले सुरक्षा प्रमुखहलाई आग्रह गरे ।
ईन्धन वितरण प्रक्रियालाई पारदर्शी बनाइएको भन्दै उनले अपारदर्शीरुपमा वितरण भईरहेको भन्ने जनगुनासोप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको समेत उल्लेख गरे ।
गृहमन्त्री बस्नेतले अपराध अनुसन्धानमा कुनै पनि खालको आग्रह नराख्न सुरक्षाप्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा यसक्षेत्रका क्षेत्रीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका उच्चअधिकारीहरुको उपस्थिती
थियो ।
यसैबीच नेपालगञ्ज रङ्गशालामा शनिबार बिहान नेपालगञ्ज पिस म्याराथनको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले नेपालको संविधान बिश्वका लोकतान्त्रिक मुलुकहरु मध्ये सबैभन्दा अग्रगामी भएको बताए । नयाँ संविधानले हरेक नागरिकलाई अधिकार सम्पन्न बनाएको छ , गृहमन्त्री बस्नेतले भने – कुनै कमी कमजोरी भएमा अझै संविधान संशोधनका लागि तयार छौं । आप्mनो अधिकारको लागि आन्दोलन गर्दा अरुको हक अधिकार हनन नहोस भन्ने तर्फ सचेत हुन गृहमन्त्री बस्नेतले आग्रह गरे ।उहाँले विस्तृत शान्ति सम्झौतापछि नेपाली राजनीति मूलधारमा प्रवेश गरेको बताउँदै शान्तिप्रक्रियाका केही बाँकी कामहरु पनि छिट्टै सम्पन्न हुने उनको भनाइ थियो ।











