४ मंसिर, काठमाडौं । अमेरिका र भारतले चीनको जासुसी गर्न नेपालको मुस्ताङलाई उपयोग गर्दै आइरहेको र सामरिक महत्वका लागि समेत उपयोग गर्ने तयारी गरेका समाचार आइरहेका बेला चीनले पनि मुस्ताङमा आफ्नो ध्यान केन्द्रित गरेको छ । चीन सिमामा रहेका नेपालका जिल्लाहरुलाई चीनले दिंदै आएको सहयोगमा उसले वृद्धि गरेको छ । उसले मुस्ताङमा मात्र छ गुणा सहयोग वृद्धि गरेको छ । उदाउँदो शक्ति राष्ट्र चीनप्रति अमेरिका र भारतको निगरानी बढेपछि चीनले नेपाल नेपालका सामरिक महत्वका जिल्लामा आफ्नो लगानी समेत बढाएको विश्लेषकहरु बताउँछन् ।
नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प र भारतीय नाकाबन्दीलाई दृष्टिगत गर्दै साविकको भन्दा छ गुणा अनुदान बढाएको जिविस, मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताए।
चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, घमी र छुसाङ गाविसका सर्वसाधारणका लागि चीनले सात हजार ८०० बोरा सिमेन्ट, १५ हजार थान जस्तापाता, आठ हजार थान प्लाइउड, एक हजार २०० टन फलामको रड, २५ हजार केजी केराउ, २९ हजार भटमास उपलब्ध गराएको कार्यक्रम अधिकृत थापाले जानकारी दिए।

चीन सरकारले यसअघि नै उपल्लो मुस्ताङको लोमान्थाङमा ७० किलोवाटको सोलार प्रणाली जडान गरिदिएको छ। त्यसबाट त्यहाँका २२१ घरधुरी प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन्।
अनुदानका क्रममा थप ५०० थान सोलार प्यानल पनि पठाएको जिविसले जनाएको छ। चीनले उपलब्ध गराउने सबै अनुदानका सामान छोसेरस्थित कोरला नाका हुँदै सिधै लोमान्थाङ भित्रिएको थियो।
सिमानासम्म दुवैतर्फबाट सडकको पहुँच पुगिसकेकाले नाकाबाट सामान आर्यात–निर्यात गर्न सहज हुने बताइएको छ। उक्त नाकालाई दीर्घकालीनरुपमा प्रयोग गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने मुस्ताङवासीको माग छ।
उपल्लो मुस्ताङसँग सीमा जोडिएको तिब्बतका ढोवासेन जिल्लाका अधिकारीले उपलब्ध गराएको सामान लोमान्थाङका गाविस सचिव झुमी विष्टले बुझेको कार्यक्रम अधिकृत थापाले जानकारी दिए।
चीनले मुस्ताङसहित हुम्ला, गोर्खा, मुगु, रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा पनि यसरी अनुदान सहयोग गर्दै आएको छ।











