२ मंसिर, काठमाडौं । तीन महिनाभन्दा लामो मधेस आन्दोलन टुंग्याउन बुधबार साँझ बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरवारस्थित राज्यव्यवस्था समितिको कार्यालयमा भएको वार्ता ठोस एजेन्डामा प्रवेश नै नगरी रोकिएको हो । बैठकपछि संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एजेन्डामा प्रवेश नगरि वार्ता सकिएको बताए ।

यादवले सरकारले विपक्षीसँगसमेत बसेर साझा धारणा बनाएपछि वार्ता हुने जानकारी दिए । ‘सरकारले ठोसरुपमा कुनै पनि प्रस्ताव ल्याएन,’ उनले संवाददाताहरुसित भने, ‘चियाबिस्कुट खाएर उठेर हिंडियो ।’
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषयलाई प्याकेजमै समाधान खोजिने जानकारी दिए । किस्ता किस्तामा समाधान खोज्न सकिन्छ कि भन्ने थियो तर समग्रमा सबै विषयलाई टुंग्याउनुपर्ने भएको प्रचण्डले बताए ।
छठपछि कडा संघर्ष गर्ने घोषणा गरेको मोर्चासँगको बुधबारको वार्तालाई ‘निर्णायक’ भनि प्रचार गरिएको थियो ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहालले राखेको प्रादेशिक सिमांकनको नयाँ प्रस्तावमा सत्तारुढ एमाले र विपक्षी कांग्रेस नै असहमत छन् । स्वयं एमाओवादीका पूर्व र सुदूरपश्चिमका नेताहरुले पनि दाहालको प्रस्तावप्रति कडा असहमति राखेका छन् ।
दाहालले पूर्वका सुनसरी र मोरङ र सुदूरपश्चिमका कैलाली, कञ्चनपुरका केही भाग टुक्राउने प्रस्ताव गरेका थिए ।
बैठकमा एमाले बरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापा, अग्नि खरेललगायत थिए ।
मोर्चाबाट संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सहअध्यक्ष हृदयेश त्रिपाठीलगायत थिए ।











