सिरहा, मंसिर २ गते । सिरहाको दक्षिणी सीमावर्ती माडर गाउँसँग जोडिएको भारतीय जयनगर बजारमा किनमेल गरेर फर्किन लागेको समयमा मंगलबार अपरान्ह बिजुलीको तार खसेर करेण्ट लाग्दा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको दक्षिणी सीमावर्ती लगडी गदियानी गा.वि.स.२ का करिब २५ वर्षीय सरोज कुमार यादव रहेको पुष्टि भएको सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायव निरीक्षक शंकर चौधरीले बताउनु भयो । यादवको खल्तीमा रहेको नेपाली रुपैयाँ र कागजातको आधारमा नेपाली रहेको भारतीय जयनगर प्रहरीले समेत पुष्टि गरेको चौधरीले उल्लेख गर्नुभयो ।
प्रहरीका अनुसार करेण्ट लागेर यादव चढेको मोटरसाइकल समेत नम्बर प्लेट समेत नदेखिने गरी पूर्ण रुपले जलेको छ । एघार हजार भोल्टको विद्युत प्रसारण लाइनको तार झरेर करेण्ट लाग्दा अर्का एक जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । करेण्ट लागेर मृत्यु भएका अर्का व्यक्ति सिरहाको गोलबजार क्षेत्रको हुन सक्ने आशङ्का गरिएको भए पनि पुष्टि हुन बाँकी रहेको माडर प्रहरीले जनाएको छ ।
नेपालमा मधेशी दलको आन्दोलनको कारणले लामो समयदेखि स्थानीय बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री महँगो भएकाले किनमेलका लागि जयनगर पुगेकामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । किनमेल गरेर घर फर्किने तर्खर गरिरहेका बेला तार झरेपछि लागेको आगोमा जलेर १० जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा अर्को मोटरसाइकल समेत जलेको छ । भारतीय प्रहरीका अनुसार विद्युतको तार खसेर भारतीय सीमावर्ती गाउँ कोरहियाका चार जना र बेलहीका चार जनाको मृत्यु भएको छ ।














