१ मंसिर, काठमाडौं । निजी विद्यालयले इन्धन अभाव भएपनि बुधबारदेखि देशैभरीका विद्यालय नियमित सञ्चालन गर्ने भएको छ । विद्यालय बन्द गर्दा कोर्ष पुरा नहुने भएपछि इन्धन नपाएपनि कक्षा सञ्चालन गर्न लागेको हो । इन्धन नपाएको भन्दै दसैं र तिहारको बिचमा धेरैजसो निजी विद्यालय खुलेनन् । ‘तेल नपाए पनि विद्यालय बन्द गर्ने योजनामा छैनौ,’ प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘विद्यार्थी हिँडाएर भएपनि कक्षा सञ्चालन गर्छौ । विद्यालय बन्द गर्ने त कल्पना पनि गर्न सक्दैनौं ।’
सबै विद्यालयहरु बुधबारदेखि खुल्दैछन् । विद्यालयले अभिभावकलाई मोबाइलमा म्यासेज पठाएर नियमित कक्षा भए पनि इन्धन अभावले गाडीको व्यवस्था गर्न नसक्ने भन्दै छोराछोरीलाई ल्याइदिन आग्रह गरेका छन् ।
उपत्यकाका ७० प्रतिशत निजी विद्यालयले सवारीबाट विद्यार्थी ल्याउने र लैजाने व्यवस्था मिलाएको थियो । गाडीको व्यवस्था नभएपनि कक्षा सञ्चालन हुने भएपछि घरदेखि टाढा विद्यालयमा भर्ना गरेका अभिभावकलाई चिन्ता थपिएको छ । एक शैक्षिक सत्रमा एक सय ८० दिन पढाई हुनु पर्ने भएपनि यो सत्रमा पुरा नहुने भएपछि आन्तरिक बिदामा पनि पढाउने प्याब्सनले जनाएको छ ।
बन्दको प्रभाव कक्षा ८ र १० का विद्यार्थीलाई परेको छ ।

प्याब्सनले तरार्इको जिल्लामा ठप्प रहेको शैक्षिक संस्था खोल्न छलफल अघि बढाउने भएको छ । तेल अभावकै कारण विद्यालय बन्द हुने वातारण नबनाई दिन प्याब्सनले सरकारसँग आग्रह समेत गरेको छ ।
इन्धनको सहज व्यवस्था गरिदिन प्याब्सनले शिक्षा, आपूर्ति र गृह मन्त्रालयका अधिकारीसँग छलफल समेत गर्ने भएको छ । उनीहरुले मंगलबार नाकाबन्दीले शैक्षिक क्षेत्रमा पारेको असरको बारेमा भारतीय राजदूत रणजित रायलाई भेटेर जानकारी समेत गराएका छन् । नाकाबन्दीले ७१ लाख विद्यार्थीलाई असर परेको प्याब्सनले जनाएको छ ।
प्याब्सन पदाधिकारीसँगको भेटमा राजदूत रायले विभिन्न नाकाबाट तेल भित्रिए पनि विद्यालयले नपाएपछि खोजी गर्न उक्साएका छन् । पछिल्लो केही दिनमा तीन सय ट्यांकर तेल भित्रिएको छ ।
शैक्षिक सत्र पर सार्न नसकिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । एसएलसी परीक्षा समेत समयमै हुने उनले बताइसकेका छन् । यसकारण पनि देशभरका विद्यालय संचालन गर्न आवश्यक भएको सर्वत्र महसुस गरिएको छ ।












