३० कात्तिक, काठमाडौं । हिन्दू राज्य माग गर्दै विगत आठ वर्षसम्म अडान राखेर धर्म निरपेक्षतासहितको संविधान कार्यान्वयनका लागि उपप्रधानमन्त्री बनेका कमल थापाका सहोदर भाइ गणेश थापालाई फिफाले दश वर्षे प्रतिबन्ध र नगद जरिवाना गरेको छ । धर्मको नाम बेचेर धेरै स्थानमा दोस्रो संविधान सभामा विजय हासिल गरेका कमल थापाले आफ्नै भाइ गणेश थापालाई सभासद् समेत बनाएका थिए । गणेश थापाले भ्रष्ट्राचार गरेको विवाद यथावत रहँदारहँदै दाइ कमल थापाले उनलाई सभासद् बनाएका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन फिफाले प्रतिबन्ध गरेको हो ।
थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर छ । उसले थापालाई २१ लाख जरिवाना समेत तोकेको छ ।
फिफाको कारबाहीपछि थापा अब स्वत पदमुक्त हुने एन्फाका एक अधिकारीले अनलाइनखबरलाई बताए । फिफाले थापाले घुस लिएको र भ्रष्टाचार गरेको ठहर गरेपछि थापाको सांसद पद समेत खतरामा परेको छ ।
दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा सांसद समेत हुन् । राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सांसद भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ समेत हुन् ।
एन्फा अध्यक्ष २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवाररिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको छ ।
थापाले भने फिफाले आफूलाई न्याय नगरेको प्रतिक्रिया दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् फिफाको अनुसाशन कमिटीले मलाई १० वर्षका लागि फुटबलबाट प्रतिवन्ध लगाएको जानकारी पाएँ । म एकदमै निराश छु र मलाई यसमा न्याय भएको जस्तो लाग्दैन ।’
फिफाले गरेको अनुसन्धानमा आफूले सयोग गरेको उल्लेख गर्दै थापाले आफूलाई निर्दोष सावित गर्नका लागि फिफाका आवश्यक प्रक्रियाहरु अनुशरण गर्ने र आवश्यक परे अदालत जाने बताए ।
थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । थापाले ५८ करोड भ्रष्टाचार गरेको ठहर गर्दै लेखा समितिले अध्यक्ष पद निलम्बन गरेपछि फिफाले उनलाई १२० दिन निलम्बन गरेको थियो ।
लेखा समितिले कारबाहीका लागि सिफारिस गरेपनि अख्तियारले उनको मुद्धा तामेलीमा राख्यो भने थापा त्यही बेला राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट सभासदमा मनोनित भए ।
उनी गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिबन्ध लगाएको छ र उनको फुटबल करियर लगभग सकिएको छ ।












