२९ कात्तिक, काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छोटो समयमा सरकार गिराउन व्यवहारिक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश विरोधी रबैया बढेको भन्दै असहज महसुस गर्न थालेका छन्। मधेसकेन्द्रित दलका माग समेट्ने हो भने ओली नेतृत्वको सरकार ढल्ने प्रचण्डले बताउन थालेका छन् ।
एकातिर ओलीको व्यवहार र अर्कोतिर मधेश केन्द्रीत दलको आन्दोलनका कारण मुलुकको एकतामै अप्ठ्यारो परिसकेको उनको धारणा छ। यसबारे उनले संयुक्त मधेसी मोर्चाका नेतासँग शनिबार बिहान भएको वार्तामा खुलेरै आफ्नो समस्या पोखेका थिए।
दाहाललाई उद्धृत गर्दै वार्तामा सहभागी मोर्चाका एक नेताले भने, ‘तपाईंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउँ ?
नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।’ दाहालले प्रधानमन्त्री केपी ओलीको उग्र मधेसविरोधी नीतिप्रति आफू असहमत रहेको पनि बताएका थिए।
दाहाललाई उद्धृत गर्दै ती नेताले भने, ’ओलीको उग्र मधेसविरोधी नीतिप्रति तपाईंहरू मात्र नभएर म पनि असहमत छु।
मैले पटकपटक उग्र मधेसविरोधी नीति त्याग्न प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छु।’
दाहालले ओलीको नीतिप्रति आफू असहमत हुँदाहुँदै पनि यो सरकारको समर्थन गर्नु आफ्नो बाध्यता रहेको पनि बताएका थिए। आफूहरू आइतबार कांग्रेस र एमालेसँग छुट्टाछुट्टै छलफल गरेर त्यसपछि एमाओवादी, कांग्रेस, सरकारी वार्ताटोलीका संयोजकसहितको बैठक हुने बताए।
महेन्द्रराय यादवले मधेसको समस्या समाधान गर्न मोर्चासहित प्रमुख दलका शीर्ष नेताहरू रहने उच्चस्तरीय राजनीतिक समिति गठन स्वीकार्य हुन नसक्ने बताए।












