२८ कात्तिक, काठमाडौं । उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री केसीले तराई पहाडबाट अलग गरिए नेपाल नरहने भन्दै त्यो कुरा कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारे । उनले २०४५ सालको तेह्र महिने नाकाबन्दीपछि नेपालीहरु अब यस्तो गर्दैन भनेर ढुक्क हुँदा अहिलेको अवस्था आएको भन्दै नेपालीहरु चारो हाल्दा खाने ब्रोइलर कुखुरा जस्तो भएको उल्लेख गरे । उपप्रधानमन्त्री केसीले भारतले घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकोले नै अघोषित रुपमा लगाएको दावी गर्दै यस्तो अघोषित नाकाबन्दीमा भारतले लामो समयसम्म ढिपी गर्न नसक्ने बताए । यद्यपि उनले तत्कालै भने यो खुल्ने संकेत नदेखिएको उल्लेख गरे । उनले आफू संघीय प्रणालीको विरोधी नभई नेपालमा यो अनुपयूक्त हुन्छ भनेर मात्रै भनेको उल्लेख गर्दै कोही रिसाउलान भनेर अरुले भन्न नसकेको र राष्ट्रिय अखण्डता, राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग सम्झौता नगर्ने धारणा पनि व्यक्त गरे ।
उपप्रधानमन्त्री केसीले पारवहन अधिकार अन्तर्राष्ट्रिय अधिकार भए पनि हाम्रो अधिकार रोकेर अप्ठ्यारोमा पार्ने काम भइरहेको भन्दै भारतले नाकाबन्दी नभनी लगाइरहेको दावी गरे । केसीले छिमेकीका कुनै सुरक्षा चासो भए त्यसमा भने छलफल गर्न सकिने स्पष्ट पार्दै भारतसँगको सम्बन्ध कुटनीतिक बाटोबाट सुमधुर बनाउनु पर्ने बताए ।












