२८ कात्तिक, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको सबै माग प्याकेजमै सहमति हुनुपर्ने अडान दोहोर्एको छ । सिंहदरबारमा शनिबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको वार्तामा मोर्चाले अहिलेको समस्या कांग्रेस सरकारको पालामा उत्पन्न भएको भन्दै समस्या समाधानको लागि पनि कांग्रेस पहल गर्नुपर्ने जनाएको हो । छलफलमा मोर्चाले आफूहरुको माग प्याकेजमै समाधान हुनु पर्ने बताएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले जानकारी दिए । उनले कांग्रेस सरकारकै पालामा ४५ जनाले सहादत प्राप्त गरेको भन्दै त्यसैले समस्या समाधानका लागि उसले पहल गरोस भनेर आफ्ना कुरा राखेको बताए । सहमतिबाटै समस्याको समाधान गर्न मोर्चा तयार रहेको भन्दै मोर्चाका नेताहरुले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाएका थिए ।
जवाफमा कांग्रेस नेताहरुले मधेसको मुद्दा सम्बोधन गर्न आफूहरु गम्भीर रहेको भन्दै अब बस्ने संसद बैठकमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिने धारणा राखेका थिए । बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले मोर्चाले उठाएका सबै माग संविधान संशोधनमार्फत पुरा गर्न सकिने बताए । तर उहाले सीमाकंनको विषयमा भने संघीय आयोगको प्रतिवेदनपछि केही राजनीतिक सहमतिका आधारमा टुङग्याउन सकिने बताए ।

कांग्रेसले सीमांकन राजनीतिकसँगै प्राविधिक विषय पनि भएकाले संघीय आयोगको प्रतिवेदन र राजनीतिक सहमतिमार्फत विवाद टुंग्याउने समेत स्पस्ट पारेको छ । बैठकमा कांग्रेस कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए भने मोर्चाकातर्फबाट उपेन्द्र यादव, महन्ठ ठाकुर, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण लगायतका नेताको सहभागीता थियो ।











