२४ कात्तिक, मुस्ताङ । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्नेबारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ ।

वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् ।
यसका लागि नेपालका तर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गरेको नेपाली वार्ता टोलीका नेतृत्व गर्नु भएका मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिए ।
चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरल्ला नाकाको भौतिक अवस्था ९सडक र पूर्वाधार० बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको थियो ।
नेपाल र चीनका बीचमा कोरल्ला नाका खोल्ने सहमति भएकाले अब पूर्वधारको विकास गरिने प्रजिअ अधिकारीले बताए ।
यसैगरी नेपाली टोलीले कोरल्ला नाकाका बारेमा सडक र पूर्वाधारको अध्ययन गरेर फर्किएको छ । टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरल्लासम्मको सडकको अवस्था अवलोकन गरेको थियो ।
तिब्बत नाका जोड्ने चैलेस्थित कालीगण्डकीमा पुल निर्माण छिट्टै सुरु गरेपछि कच्ची सडक सम्पर्क स्थापित हुनेछ । अहिले पनि नदीबाटै मालबाहक सवारी साधन र जिप ओहोरदोहोर गर्दै आएका छन् ।
चैलेदेखि समरको उकालोको सडकमा ठूला गाडी सञ्चालनका लागि मोड सुधार वा वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था देखिएको प्रजिअ अधिकारीले बताए ।
घमी खोला, चराङ खोला, लोमान्थाङ खोला छोसेर खोलामा पुल वा कलभर्ट बनाउनुपर्ने देखिएको छ । ुसडकको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माणको काम भएमा कोरल्ला नाका कम्तीमा आठ महिनामा सजिलै सञ्चालन गर्न सकिने देखिएको छ,ु उनले भने ।











