२३ कात्तिक, काठमाडौं । नेपालको जलस्रोतमाथि नियन्त्रण गर्ने भारती योजनाअनुसार भैरहेको नाकाको आन्दोलन र भारतले नै गरेको अघोषित रुपमा गरेको नाकाबन्दीका विरुद्ध नेपालीहरु पीडा सहेर पनि नेपाल जोगाउन यतिवेल डटिरहेका छन् । नेपालीहरुको यो भावनाले भारतीय शासक झुक्ने संकेत त देखिएको छ नै तिनका भरियाहरु पनि के गरौं र कसो गरौंको अवस्थामा पुगेका छन् ।
नेपाल आयल निगमले निजी सवारी साधन र सार्वजनिक सवारी साधनलाई केही दिन पेट्रोल तथा डिजेल वितरण गरे पनि काठमाडौं राजधानीमा सवारी साधन भने कम चलेका छन् । सिमित मात्रामा बाँडिएको इन्धनका कारण प्रर्याप्त सवारी साधन नचल्दा यात्रुहरु बसको छतमा समेत बस्ने ठाउँ नपाएर छतमा चढ्ने भर्याङ र ढोकामा झुण्डिएर अत्यन्त जोखिमयुक्त यात्रा गरिरहन बाध्य छन् ।

आयल निगमले मंगलबारदेखि अत्यावश्यकबाहेकका सवारी साधनलाई तेल दिन नसक्ने जनाएपछि तिहारमा यात्रा गर्नेले झनै दुःख पाउने भएका छन् ।
इन्धन अभावले तिहारमा घर जानेदेखि छठ मनाउन जानेको समेत दुःखको यात्रा हुने निश्चित छ ।

तिहार र छठ मनाएपछि फर्कनेहरुका लागि यात्रा त्यतिकै कष्टसाध्य हुने भएको छ । राजधानीमै प्रर्याप्त बस नपाउँदा महिला तथा अशक्तहरुले यात्रा गर्नै नसक्ने अवस्था सिर्जना भएको छ ।

यति कठीन यात्रा गर्न बाध्य नेपालीहरुले यो दुःख सहेर पनि नेताहरुलाई भनीरहेका छन् : ‘देश बचाऊ, भारतसँग नझुक, राष्ट्रियतालाई बन्धकी नराख ।’











