२३ कात्तिक, दाङ । नेपाल भित्रिने पेट्रोलिय पदार्थका ट्याङ्कर र ग्यास बुलेटहरु सिमामा रोकेर कुहिने केरालगायतका सामग्री नेपाल पठाउने भारतका ट्रक जलाउने क्रम सुरु भएको छ । भारतीय ज्यादतीविरुद्ध दाङका जनताले भारतीय केरा लिएर आएको ट्रकमा आगो लगाइदिएका हुन् । दाङको लक्ष्मीपुर १ चौपट्टामा भारतीय नम्वर प्लेटको एक ट्रकमा जलाएर खरानी पारिएको हो । लमही घोराही सडकखण्डको लक्ष्मीपुर १ चौपट्टामा यूपी ५५ टी ४०२५ नम्वरको मिनी ट्रकमा सोमबार आगजनी गरिएको हो ।

घोराहीमा केरा झारेर कृष्णनगरतर्फ जाँदै गरेको ट्रकमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरीले जनाएको छ । ट्रक पूर्णरुपमा जलेको दाङका प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिएका छन् । प्रहरीको टोलीले ट्यांकरबाट पानी ल्याएर आगो निभाउने प्रयास गरेको थियो । तर ट्रक सम्पूर्ण रुपमा जलेको छ ।

ट्रकमा आगो कसरी लाग्यो र कसले लगायो भन्नेबारे केही नखुलेको प्रहरीले बताएको छ । प्रहरीले यसबारे अनुसन्धान जारी राखेको पनि जनाएको छ । ट्रकका चालक र सहचालक प्रहरी सम्पर्कमा रहेको र उनीहरुसँग जानकारी लिन काम भैरहेको एसपी कडायतले बताएका छन् ।
ट्रक जलाउने कार्यमा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता रहेको गोप्य स्रोतले बताएको छ । ट्रक जलाउने कार्यमा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता रहेको बुझिएको छ । भारतीय बिस्तारवाद र नाकाबन्दीका विरुद्ध नेकपा माओवादी राप्ती उपब्युरोको घोषित कार्यक्रम अनुसार दाङको चौपट्टामा भारतीय नम्बर प्लेटको गाडीमा आगजनी गरिएको सो पार्टीका एक नेताले जानकारी दिए।












